भीमफेदी दुर्घटनामा परेका अधिकांश एउटै गाउँका, छठ मनाउन फर्किंदै थिए सर्लाही
गाडीमा सवार यात्रु छठ पर्व मनाउन काठमाडौंको टीकाथलीबाट सर्लाहीस्थित आफ्नो गाउँ फर्किंदै थिए । उनीहरूले यात्राका लागि गाडी रिजर्भ गरेका थिए ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट गाडी करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो । गाडीमा सवार यात्रु छठ पर्व मनाउन काठमाडौंको टीकाथलीबाट सर्लाहीस्थित आफ्नो गाउँ फर्किंदै थिए । उनीहरूले यात्राका लागि गाडी रिजर्भ गरेका थिए ।
घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू राति करिब २ बजे टीकाथलीबाट हिँडेका थिए । गाडीमा चालकसहित करिब १४ जना सवार थिए । अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त रहेको उनले बताए ।
दुर्घटनामा घाइते भएका यादवको टाउको र ढाडमा चोट लागेको छ । घाइतेमध्ये पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पनि पहिचान खुलेको छ । सक्षमको शरीरमा भित्री चोट लागेको छ भने सुदनको टाउको र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते पाँचै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये सक्षमको अवस्था सामान्य र सुदनको मध्यम रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धार तथा खोजतलासमा खटिएको छ । बिहान ५ः५५ बजे दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप टोली परिचालन गरिएको थियो ।
भिरालो क्षेत्रमा गाडी खसेकाले उद्धार तथा खोजतलासमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले मृतकको पहिचान खुलाउने तथा दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।