सामाजिक सुरक्षा कोषमा ३२ लाखभन्दा बढी आबद्ध, १ खर्ब २९ अर्ब संकलन
कोषमा आबद्ध हुनेमध्ये वैदेशिक रोजगारीमा रहेका श्रमिकको हिस्सा सबैभन्दा ठूलो छ । वैदेशिक रोजगारी क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना कोषमा जोडिएका छन् ।
काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान सङ्कलन भएको छ । कोषका अनुसार गत असोज मसान्तसम्म विभिन्न चार क्षेत्रका ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताबाट उक्त रकम सङ्कलन भएको हो ।
कोषमा आबद्ध हुनेमध्ये वैदेशिक रोजगारीमा रहेका श्रमिकको हिस्सा सबैभन्दा ठूलो छ । वैदेशिक रोजगारी क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना कोषमा जोडिएका छन् । यो कुल योगदानकर्ताको झन्डै ७५ प्रतिशत हो ।त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना योगदानकर्ता आबद्ध भएका छन् ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउने व्यवस्था कार्यान्वयनमा आएपछि यस क्षेत्रको सहभागिता उल्लेख्य बढेको हो ।औपचारिक क्षेत्रको सहभागितामा भने बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । कोषमा औपचारिक क्षेत्रका २३ हजार ८०७ रोजगारदाता संस्था आबद्ध रहेकामा बागमतीका मात्रै १५ हजार ५५१ छन् । त्यसपछि कोशीका २ हजार ७०३, लुम्बिनीका २ हजार १९०, गण्डकीका १ हजार ४२८, मधेसका १ हजार ३२१, सुदूरपश्चिमका ३८० र कर्णालीका ३१४ रोजगारदाता संस्था रहेका छन् ।
प्रदेशगत तथ्याङ्कले औपचारिक क्षेत्रको सहभागिता बागमतीमा बढी केन्द्रित रहेको देखाउँछ ।
निजी कम्पनी, उद्योग, प्रतिष्ठान तथा अन्य सङ्गठित संस्थामा कार्यरत श्रमिक यस क्षेत्रमार्फत कोषमा आबद्ध हुँदै आएका छन् । यद्यपि, अनौपचारिक र स्वरोजगार क्षेत्रमा सामाजिक सुरक्षा कोषको पहुँच निकै कमजोर देखिएको छ । ३२ लाखभन्दा बढी योगदानकर्ता आबद्ध हुँदा यी दुई क्षेत्रबाट जोडिनेको सङ्ख्या ३ हजारभन्दा कम छ । श्रम बजारमा ठूलो हिस्सा ओगट्ने अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्नु कोषका लागि अझै चुनौतीपूर्ण देखिएको छ ।
कोषले योगदानकर्ताका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । कोषको तथ्याङ्कअनुसार हालसम्म विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी गरिएको छ । योगदानकर्ताले आफूले गरेको योगदानका आधारमा स्वास्थ्य उपचार, दुर्घटना तथा अशक्तताको सुविधा, परिवारका सदस्यका लागि आर्थिक सुरक्षा तथा वृद्धावस्थामा पेन्सन र अवकाश सुविधा प्राप्त गर्ने व्यवस्था छ ।
सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको सङ्ख्या र रकम बढ्दै गए पनि अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सहभागिता विस्तार गर्नु र सामाजिक सुरक्षाको पहुँचलाई सबै श्रमिकसम्म पुर्याउनु अहिलेको मुख्य चुनौतीका रूपमा देखिएको छ ।