सेयर नामसारी गर्दा के–के कागजात चाहिन्छ? यस्तो छ प्रक्रिया र शुल्क

घरायसी नामसारी, अंशबण्डा वा मृत्यु नामसारीबाट सेयर हस्तान्तरण गर्न चाहने व्यक्तिले धितोपत्र केन्द्रीय निक्षेप सेवा (सातौँ संशोधन) विनियमावली, २०७५ अनुसारको फारम भर्नुपर्छ ।

काठमाडौं । सेयर लगानीकर्ताले घरायसी नामसारी, अंशबण्डा वा धितोपत्रधनीको मृत्युपछि हकवालाको नाममा सेयर हस्तान्तरण गर्न निश्चित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । परिवारका सदस्यबीच सेयर हस्तान्तरण गर्दा नामसारीको प्रकृतिअनुसार आवश्यक कागजात, निवेदन र शुल्क बुझाउनुपर्ने व्यवस्था छ । सामान्यतया एकाघर परिवारका सदस्यबीच आपसी सहमतिमा हुने धितोपत्रको बाँडफाँटलाई अंशबण्डा भनिन्छ । त्यस्तै, एकाघर परिवारका कुनै सदस्यको नाममा रहेको धितोपत्र परिवारकै अर्को सदस्यको नाममा सार्नुलाई घरायसी नामसारी भनिन्छ । धितोपत्रधनीको मृत्यु भएपछि निजको नाममा रहेको सेयर कानुनी हकवालाको नाममा हस्तान्तरण गर्ने प्रक्रियालाई मृत्यु नामसारी भनिन्छ ।

घरायसी नामसारी, अंशबण्डा वा मृत्यु नामसारीबाट सेयर हस्तान्तरण गर्न चाहने व्यक्तिले धितोपत्र केन्द्रीय निक्षेप सेवा (सातौँ संशोधन) विनियमावली, २०७५ अनुसारको फारम भर्नुपर्छ । त्यसपछि सेयर प्राप्त गर्ने व्यक्तिको विवरणसहित आफ्नो हितग्राही खाता (डिम्याट खाता) रहेको निक्षेप सदस्य (डीपी) समक्ष आवश्यक कागजात र शुल्कसहित निवेदन दिनुपर्छ ।

निक्षेप सदस्यले निवेदन र संलग्न कागजात रुजु गरी सिडिएससीको प्रणालीमा विवरण प्रविष्ट गर्छ । त्यसपछि आवश्यक विवरण तथा कागजातसहितको निवेदन सिडिएससीमा पेस गर्नुपर्ने हुन्छ । सेयर हस्तान्तरणका क्रममा दुवै पक्षबीच खरिदबिक्री वा आर्थिक लेनदेन भएको भए त्यसको पुष्टि गर्ने कागजात पनि आवश्यक पर्छ । सम्बन्धित निकायले माग गरेका अन्य कागजातसमेत पेस गर्नुपर्ने व्यवस्था छ ।

अंशबण्डाबाट सेयर प्राप्त गर्दा

अंशबण्डाबाट प्राप्त भएको सेयर हस्तान्तरण गर्न नागरिकता प्रमाणपत्रको प्रतिलिपि दुई प्रति, मालपोत कार्यालयबाट पारित भएको लिखतको प्रमाणित प्रतिलिपि तथा सम्बन्धित निकायले माग गरेका अन्य कागजात दुई प्रति पेस गर्नुपर्छ ।

मृत्यु नामसारीका लागि के गर्नुपर्छ ?

धितोपत्रधनीको मृत्यु भएमा हकवालाले निर्धारित फारम भरी मृतकको हितग्राही खाताको विवरण र आफूले प्राप्त गर्ने सेयरको विवरणसहित आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यसमक्ष निवेदन दिनुपर्छ ।

त्यसपछि सिडिएससीले आफ्नो वेबसाइटमा ३५ दिने सूचना प्रकाशन गर्छ । यस्तो सूचना प्रकाशनका लागि प्रत्येक सेयर रजिस्ट्रार तथा निक्षेप सदस्यलाई सिडिएससीको वेबसाइटमा लगइन सुविधा प्रदान गरिएको हुन्छ । प्रकाशित सूचना सिडिएससीको वेबसाइटको ‘इन्भेस्टर सेक्सन’ अन्तर्गत ‘डेथ नोटिस’ उपसेक्सनमा हेर्न सकिन्छ । उक्त सूचना ३५ दिनसम्म वेबसाइटमा उपलब्ध रहन्छ ।

निक्षेप सदस्यबाट प्राप्त निवेदन तथा कागजातको आवश्यक जाँचबुझ गरेपछि सेयर हस्तान्तरणको प्रक्रिया अघि बढाइन्छ ।

मृतकको नाममा रहेको सेयर भौतिक रूपमा भएमा प्रत्येक सूचीकृत संस्थाको सेयर हस्तान्तरणका लागि विनियमावलीबमोजिमको फारम भरी सेयर प्रमाणपत्रसहित हकवालाको डिम्याट खाता रहेको निक्षेप सदस्यसमक्ष निवेदन दिनुपर्छ ।

मृत्यु नामसारीका लागि भौतिक सेयर भए तीन/तीन प्रति र अभौतिक सेयर भए दुई/दुई प्रति मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, मृतकको नागरिकताको प्रमाणित प्रतिलिपि, हकवालाको नागरिकताको प्रमाणित प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्र र आवश्यकताअनुसार अन्य हकवालाको मञ्जुरीनामा पेस गर्नुपर्छ ।

यी कागजातमध्ये एक प्रति निक्षेप सदस्य र एक प्रति सिडिएससीमा बुझाउनुपर्छ । भौतिक सेयरको हकमा थप एक प्रति निक्षेप सदस्य तथा सेयर रजिस्ट्रारसमक्ष पनि पेस गर्नुपर्ने हुन्छ ।

घरायसी नामसारीका लागि चाहिने कागजात

एकाघर परिवारभित्र तीन पुस्तासम्मका सदस्यबीच घरायसी नामसारी गर्न सेयर हस्तान्तरण गरी दिने र लिने दुवै पक्षको निवेदन आवश्यक पर्छ । त्यस्तै, तीन पुस्ताभित्रको पारिवारिक सम्बन्ध देखिने कागजात, दुवै पक्षको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सेयरको सक्कल प्रमाणपत्र तथा सेयर लिने र दिनेबीचको नाता प्रमाणित हुने प्रमाणपत्र पेस गर्नुपर्छ । यी कागजात निक्षेप सदस्य र सिडिएससीका लागि एक/एक प्रति उपलब्ध गराउनुपर्ने हुन्छ ।

कति लाग्छ सेयर नामसारी शुल्क ?

सेयर हस्तान्तरण गर्न चाहने व्यक्तिले आफ्नो निवेदन दिने निक्षेप सदस्यलाई निर्धारित शुल्क बुझाउनुपर्छ । घरायसी नामसारी वा अंशबण्डाबाट हुने सेयर हस्तान्तरणमा सेयरको चुक्ता रकमको दुई प्रतिशत वा न्यूनतम २०० रुपैयाँ शुल्क लाग्छ ।

त्यस्तै, धितोपत्रधनीको मृत्युपछि हकवालाको नाममा सेयर हस्तान्तरण गर्दा सेयरको चुक्ता रकमका आधारमा फरक–फरक शुल्क निर्धारण गरिएको छ । एक लाख रुपैयाँसम्मको चुक्ता रकम बराबरको सेयर हस्तान्तरण गर्दा ०.५ प्रतिशत वा न्यूनतम २५ रुपैयाँ शुल्क लाग्छ । एक लाखदेखि पाँच लाख रुपैयाँसम्मको सेयर हस्तान्तरण गर्दा ०.२ प्रतिशत वा न्यूनतम ५०० रुपैयाँ बुझाउनुपर्छ ।

त्यस्तै, पाँच लाखदेखि १० लाख रुपैयाँसम्मको सेयर हस्तान्तरणमा ०.१५ प्रतिशत वा न्यूनतम एक हजार रुपैयाँ शुल्क लाग्छ । १० लाख रुपैयाँभन्दा बढी चुक्ता रकमको सेयर हस्तान्तरण गर्दा ०.१ प्रतिशत वा न्यूनतम एक हजार ५०० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ । निक्षेप सदस्यले संकलन गरेको यस्तो शुल्कको ६० प्रतिशत रकम सिडिएससीको भागमा जाने व्यवस्था छ ।