स्वरूप परिवर्तन गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा

ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, चारवटा स्कुटर, दुई/दुईवटा डुकाटी र एमटी, एक/एकवटा डोमिनार र केटीएम डुक र आठवटा अन्य सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।


काठमाडौं । प्रहरीले ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाइएका ४०१ दुईपांग्रे सवारीलाई कारबाही गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण नियन्त्रण गर्न मोडिफाइ गरेर चलाएका दुईपांग्रे सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । 

ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, चारवटा स्कुटर, दुई/दुईवटा डुकाटी र एमटी, एक/एकवटा डोमिनार र केटीएम डुक र आठवटा अन्य सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।  एक साताको अवधिमा उक्त संख्यामा मोटरसाइकल, स्कुटर लगायतका दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए । 

सडकमा ध्वनि प्रदूषण बढाउने तथा अन्य सवारी चालक र सर्वसाधारणलाई असर पुर्‍याउने गरी मोटरसाइकल मोडिफाइ गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान नै सञ्चालन गरिएको काफ्लेले बताए । “निजी सवारीसाधन भन्दै आफूखुसी स्वरूप परिवर्तन गरी सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको छ,” उनले भने । 

यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्ने र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पार्ने उनले बताए । “ट्राफिक प्रहरीले मोडिफाइ गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ,” काफ्लेले जानकारी दिए ।

विभागले कानुनी प्रक्रिया पूरा भएपछि मोटरसाइकललाई सोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काएर मात्र सम्बन्धित धनीलाई जिम्मा लगाउने उनले जानकारी दिए । मोडिफाइ गरिएका पार्टपुर्जासमेत परिवर्तन गरी मोटरसाइकललाई पुरानै अवस्थामा ल्याएपछि मात्र हस्तान्तरण गर्ने गरिएको उनको भनाइ छ ।  पटक–पटक नियम उल्लंघन गर्ने केही मोटरसाइकललाई भने प्रहरीले नियन्त्रणमै राखेको उनले जानकारी दिए । काफ्लेका अनुसार पाँचदेखि १० वटासम्म मोटरसाइकल पटक–पटक कारबाहीमा परेपछि नियन्त्रणमा राखिएको छ ।