कोरियन भाषा परीक्षा सुरु: ७ हजार सिटमा ७६ हजार प्रतिस्पर्धी
परीक्षार्थीले आफ्नो परीक्षा मितिभन्दा एक दिनअघि तोकिएको सिफ्टअनुसार ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा पुगेर औँठाछाप (बायोमेट्रिक) दर्ता गराउनुपर्नेछ। परीक्षाको दिन उक्त विवरण पुनः रुजु गरिने भएकाले परीक्षा सुरु हुनुभन्दा दुई घण्टाअघि नै केन्द्रमा उपस्थित हुनुपर्नेछ ।
काठमाडौं । दक्षिण कोरिया रोजगारीमा जान इच्छुक नेपालीका लागि सन् २०२६ को कोरियन भाषा परीक्षा (ईपीएस–टपिक, यूबीटी) मंगलबारदेखि सुरु भएको छ ।
ईपीएस कोरिया शाखाका अनुसार यस वर्षको परीक्षा ‘पोइन्ट बेस्ड सेलेक्सन सिस्टम’ अन्तर्गत विभिन्न चार क्षेत्रमा सञ्चालन हुनेछ । पहिलो चरणमा सेवा–१ क्षेत्रको परीक्षा सुरु भएको छ । त्यसपछि वन, कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रको परीक्षा हुनेछ । सेवा–१ क्षेत्रको परीक्षा नोभेम्बर १७ देखि १९ सम्म सञ्चालन हुनेछ । त्यस्तै, वन क्षेत्रको परीक्षा नोभेम्बर १८ र १९ तथा कृषि तथा पशुपालन क्षेत्रको परीक्षा नोभेम्बर २० देखि डिसेम्बर १० सम्म हुनेछ ।
सबैभन्दा बढी आवेदन परेको उत्पादनमूलक क्षेत्रको परीक्षा भने चार चरणमा सञ्चालन गरिनेछ । पहिलो चरण डिसेम्बर ११ देखि २२ सम्म, दोस्रो चरण जनवरी ४ देखि २१ सम्म, तेस्रो चरण जनवरी २९ देखि फेब्रुअरी ५ सम्म र चौथो चरण फेब्रुअरी १० देखि २५ सम्म हुनेछ । शाखाका अनुसार दैनिक पाँच सिफ्टसम्म परीक्षा सञ्चालन हुनेछ । प्रत्येक सिफ्टमा बढीमा २०० परीक्षार्थी सहभागी हुन पाउनेछन् । परीक्षा ललितपुरको भैंसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान परिसरमा रहेको यूबीटी हलमा सञ्चालन हुनेछ ।
परीक्षार्थीले आफ्नो परीक्षा मितिभन्दा एक दिनअघि तोकिएको सिफ्टअनुसार ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा पुगेर औँठाछाप (बायोमेट्रिक) दर्ता गराउनुपर्नेछ। परीक्षाको दिन उक्त विवरण पुनः रुजु गरिने भएकाले परीक्षा सुरु हुनुभन्दा दुई घण्टाअघि नै केन्द्रमा उपस्थित हुनुपर्नेछ । परीक्षा समयभन्दा एक घण्टाअघि अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन हुने भएकाले बायोमेट्रिक प्रमाणीकरणपछि अनिवार्य रूपमा सहभागी हुन शाखाले आग्रह गरेको छ ।
परीक्षा केन्द्रभित्र मोबाइल फोन, पीडीए, डिजिटल शब्दकोश, स्मार्टवाचलगायत विद्युतीय उपकरण तथा झोला लैजान निषेध गरिएको छ । परीक्षामा अनियमितता गर्ने, चिट चोर्ने वा होहल्ला गर्ने परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्म ईपीएस परीक्षामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइने शाखाले जनाएको छ।
यस वर्ष दक्षिण कोरियाले नेपालबाट चार क्षेत्रमा गरी ७ हजार २०० जना कामदार लैजाने लक्ष्य राखेको छ । जसअनुसार सेवा क्षेत्रमा १००, वन क्षेत्रमा १००, कृषि तथा पशुपालनमा २ हजार र उत्पादनमूलक क्षेत्रमा ५ हजार जनाको माग गरिएको छ ।
तर, उक्त कोटाका लागि कुल ७६ हजार १७३ जनाले आवेदन दिएका छन् । सेवा क्षेत्रमा १ हजार ३९, वनमा १ हजार १२४, कृषिमा २० हजार ९०७ र उत्पादनमूलक क्षेत्रमा ५३ हजार १०३ जनाको आवेदन परेको छ ।