तातोपानी नाका पूर्ण रूपमा खुलाउन व्यवसायीको दबाब, चीनसँग कूटनीतिक पहल गर्न माग
लामो समयसम्म नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक मार्ग सञ्चालनमा नआउँदा व्यवसायीहरू पेसाबाटै पलायन हुनुपरेको उनीहरूको भनाइ छ ।
सिन्धुपाल्चोक। नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । उक्त सिमाना चीनसँगको सबैभन्दा छोटो दूरीको नाका हो । तातोपानी नाका खुलाउने विषयमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले आयोजना गरेको सर्वपक्षीय बृहत् अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायी तथा स्थानीय बासिन्दाले नाका चाँडो खुलाउन सरकारसँग माग गरेका छन् । लामो समयसम्म नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक मार्ग सञ्चालनमा नआउँदा व्यवसायीहरू पेसाबाटै पलायन हुनुपरेको उनीहरूको भनाइ छ ।
विसं २०७२ सालको भूकम्पयता पटकपटक बन्द हुँदै आएको तातोपानी नाका नियमित सञ्चालनमा चीनले चासो नदेखाएको भन्दै सिन्धुपाल्चोकका व्यापारी तथा जनप्रतिनिधिले सरकारले बेइजिङसँग स्पष्ट जवाफ माग्न ढिला गर्न नहुने राय व्यक्त गरेका छन् ।
कार्यक्रममा व्यवसायी, स्थानीय तहका प्रतिनिधि र स्थानीयबीच नाका अवरुद्ध हुनुका कारण, व्यापारीले भोग्नुपरेको सास्ती र आगामी कार्यदिशाबारे बहस भएको थियो ।
तातोपानी नाकाका लागि लोड गरिएको सामान नाकामा आइपुग्ने बेलामा एक्कासी बन्द हुने गरेको नेपाल हिमालय सिमापार वाणिज्य सङ्घका उपाध्यक्ष भरत कार्कीले बताए । बाध्य भएर केरुङतर्फ सामान पठाउँदा त्यहाँ पनि अर्कै समस्या आउने र पुनः अन्तै मोड्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
त्यस्तै नेपाल ट्रान्स–हिमालयन सीमा व्यापार सङ्घका प्रतिनिधि रामचन्द्र पौडासैनीले चीनसँग प्रत्यक्ष कूटनीतिक संवाद गर्नुपर्नेमा जोड दिए । आवश्यक परे सरकारी प्रतिनिधिमण्डल नै चीन पठाउनुपर्ने उनको सुझाव छ ।
भूकम्पपछि सहज रूपमा सञ्चालनमा आउन नसकेको तातोपानी नाका बन्दप्रायः हुँदा व्यापार–व्यवसाय चौपट भएको उनले बताए । व्यवसायीले सरकारको कूटनीतिक र प्रशासनिक उदासीनताप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । तातोपानी नाका नखोल्ने हो भने यसको विकल्प व्यवसायीले खोज्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।
कार्यक्रममा सांसद भरतप्रसाद पराजुलीले सरोकारवालाको आवाज बोकेर सरकारसमक्ष प्रतिनिधित्व गर्ने आफ्नो जिम्मेवारीअनुसार कार्यक्रम आयोजना गरिएको बताए । बजारमा चलेका हल्लाको पछि नलाग्न आग्रह गर्दै पराजुलीले आफूले तातोपानीको नाका र लिपिङमा गएर पारिपट्टीका चिनियाँ संरचना प्रत्यक्ष देखेको बताए ।