सेयर बजारमा देखिएन उत्साह, नेप्से १२.७९ अंकले घट्दा कारोबार रकम भने बढ्यो
आज ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । मंगलबार नेप्से परिसूचक १२.७९ अंक घटेर २६३६.१० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । गत शुक्रबार ३ अर्ब ५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज अपर लोहोरे खोलाको सेयर मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशतले बढेको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको ६ प्रतिशत र अपोलो हाइड्रोपावरको ५.६५ प्रतिशतले सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य घट्नेमा एभरेष्ट कलर रहेको छ । यसको सेयर मूल्य प्रतिकित्ता ५.३६ प्रतिशतले घटेको छ । त्यस्तै, सीवाईसी नेपालको ४.८६ प्रतिशत, विजय लघुवित्तको ४.४९ प्रतिशत र बेनी हाइड्रोपावरको ४.१२ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा ७ नबिल डिबेन्चर २०८९ शीर्ष स्थानमा रहेको छ । यसको २८ करोड ९१ लाख रुपैयाँ बराबरको इकाई किनबेच भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोपावरको २० करोड ३१ लाख, सेन्ट्रल फाइनान्सको १९ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२१ प्रतिशत घटेको छ। कारोबारमा आएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढ्दा १८५ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।