हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणलाई अनुमति
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो ।
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो ।
प्राधिकरणले २०८३ मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म विद्युत् आयात गर्न पाउनेछ । अनुमति अनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मकोसमयबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ । विद्युत् आयातका लागि कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाट आयातको अनुमति प्राप्त भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा माग र आपूर्तिको व्यवस्थापन सहज हुने बताउनुभयो । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यस अवस्थालाई समेत ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो ।
गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुसदेखि चैतसम्म चार महिनाको अवधिमा आन्तरिक उत्पादनभन्दा माग बढी हुने अनुमान गरिएको छ । उक्त अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने प्राधिकरणको आकलन छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ । उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको प्रक्षेपण छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान छ । आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्दै जाने र आन्तरिक विद्युत् उत्पादनमा वृद्धि हुने भएकाले भारतबाट हुने आयात क्रमशः घट्दै जाने तथा विद्युत् निर्यात सुरु हुने प्राधिकरणको अपेक्षा छ ।
यसैबीच, प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) मा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले उक्त विद्युत् पनि २०८३ मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म निर्यात गर्न सक्नेछ । हिउँदयाममा भारतबाट विद्युत् आयात गर्ने र आन्तरिक उत्पादन बढ्ने समयमा निर्यात गर्ने व्यवस्थाले नेपालको विद्युत् माग तथा आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।