प्रभु बैंकले रश्मी पन्तसहित चार कर्मचारीलाई गर्यो कारबाही, दुई जना बर्खास्त
बैंकको आन्तरिक सर्कुलरअनुसार पन्त र शाक्यलाई २०८३ कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको छ । त्यस्तै, मधुसूदन न्यौपानेको दुई वर्षका लागि बढुवा रोकिएको छ भने सुदीप श्रेष्ठलाई सहायक पदबाट कनिष्ठ सहायक पदमा घटुवा गरिएको छ ।
काठमाडौं । प्रभु बैंकले चिफ बिजनेस अफिसर रश्मी पन्तसहित चार जना कर्मचारीमाथि कारबाही गरेको छ । बैंकले पन्त र सुगेन शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ भने अन्य दुई कर्मचारीलाई बढुवा रोक्का र पद घटुवाको कारबाही गरेको हो ।
बैंकको आन्तरिक सर्कुलरअनुसार पन्त र शाक्यलाई २०८३ कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको छ । त्यस्तै, मधुसूदन न्यौपानेको दुई वर्षका लागि बढुवा रोकिएको छ भने सुदीप श्रेष्ठलाई सहायक पदबाट कनिष्ठ सहायक पदमा घटुवा गरिएको छ । बैंकले कर्मचारी सेवा विनियमावली, २०७८ को परिच्छेद ८३ अनुसार उनीहरूमाथि कारबाही गरेको जनाएको छ ।
बैंकका अनुसार शाक्यले प्रभु ग्रुप इन्कद्वारा रेमिट्यान्स कारोबारका लागि पेस गरिएको स्ट्यान्डबाइ लेटर अफ क्रेडिट तथा वित्तीय जमानत स्वीकार गर्दा बैंकिङ नियमहरूको पालना नगरेको पाइएको थियो । उनको कार्यका कारण बैंक ठूलो वित्तीय जोखिम र कानुनी दायित्वमा पर्न सक्ने देखिएपछि सेवाबाट बर्खास्त गरिएको बैंकले जनाएको छ ।
त्यस्तै, श्रेष्ठले सामूहिक सौदाबाजी सम्झौताको नतिजाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूको ठूलो समूहलाई अनधिकृत रूपमा इमेल प्रवाह गरेको आरोपमा पद घटुवाको कारबाही भोग्नुपरेको हो । उनलाई कर्मचारी विनियमावलीबमोजिम सहायक पदबाट एक तह घटुवा गरी कनिष्ठ सहायक बनाइएको छ ।
अर्का कर्मचारी न्यौपानेले स्थापित कार्यविधि पालना नगरी कार्यसम्पादनमा कमजोरी देखाएको भन्दै दुई वर्षका लागि बढुवा रोक्का गरिएको बैंक स्रोतले जनाएको छ ।