तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३ महिनाको लागि २ खर्ब रुपैयाँ उठाउँदै
केन्द्रीय बैंकले ९२ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्न लागेको हो ।
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भएपछि नेपाल राष्ट्र बैंकले फेरि २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ३ महिना लागि निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर १ गते दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमार्फत निक्षेप संकलन गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको निष्कासन पनि सोही दिन हुनेछ । यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन पाउनेछन् । निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गरी बोल पेस गर्नुपर्नेछ। न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँले भाग जाने रकमका लागि बोल गर्न सकिनेछ ।
बोलकबोलबाट प्राप्त प्रस्तावमध्ये सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँट गरिनेछ । एउटै ब्याजदरमा परेको बोल रकम जोड्दा कुल निष्कासित रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
स्वीकृत बोलबमोजिमको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी निक्षेप संकलन गरिनेछ । संकलित निक्षेपको साँवा तथा ब्याज आगामी फागुन ५ गते सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ। निक्षेप संकलन गरिएको रकमलाई बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात (सीआरआर) गणनामा समावेश गर्न पाउने छैनन्। तर वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न पाउने व्यवस्था छ।