राष्ट्र बैंकको खुद नाफा १३८ प्रतिशत बढेर ४ खर्ब नाघ्यो, सरकारलाई ४२ अर्ब दिने
पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ तथा हानि समायोजन गर्नुअघिको खुद नाफा भने ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकको खुद नाफा एक वर्षमै १३७.८८ प्रतिशतले बढेर ४ खर्ब १० अर्ब रुपैयाँ नाघेको छ । सुनचाँदी तथा विदेशी मुद्रा सञ्चितिको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ उल्लेख्य रूपमा बढेपछि आर्थिक वर्ष २०८२/८३ मा केन्द्रीय बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँले बढेको हो ।
राष्ट्र बैंकको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकले ४ खर्ब १० अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो नाफा १ खर्ब ७२ अर्ब ३९ करोड रुपैयाँ थियो । विदेशी मुद्रा सञ्चिति ऐतिहासिक रूपमा बढ्नु र त्यसको पुनर्मूल्याङ्कनबाट ठूलो लाभ प्राप्त हुनुले नाफामा अस्वाभाविक देखिने वृद्धि भएको हो ।
यद्यपि, पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ तथा हानि समायोजन गर्नुअघिको खुद नाफा भने ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो नाफा ८० अर्ब ४८ करोड २६ लाख रुपैयाँ थियो । यसले पुनर्मूल्याङ्कनबाहेकको नियमित नाफामा भने सामान्य वृद्धि भएको देखाउँछ । सुन तथा चाँदीको पुनर्मूल्याङ्कनबाट राष्ट्र बैंकले ७१ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ लाभ प्राप्त गरेको छ । अघिल्लो वर्ष यस्तो लाभ ४६ अर्ब ८८ करोड ६८ लाख रुपैयाँ थियो । त्यस्तै, विदेशी विनिमयको पुनर्मूल्याङ्कनबाट २ खर्ब ५४ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ लाभ भएको छ । अघिल्लो वर्ष यस्तो लाभ ४५ अर्ब २ करोड ९९ लाख रुपैयाँ मात्र थियो ।
विदेशी मुद्रा सञ्चितिको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ नै खुद नाफामा भएको ठूलो वृद्धिको प्रमुख आधार बनेको छ । विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तन र सञ्चितिको आकार बढ्दा त्यसको मूल्याङ्कनमा देखिएको लाभले केन्द्रीय बैंकको वित्तीय विवरणलाई उल्लेख्य रूपमा प्रभावित पारेको हो ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकले विदेशी मुद्राबाट १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको ९४ अर्ब ८१ करोड रुपैयाँको तुलनामा करिब २३ प्रतिशत बढी हो ।
तर, वित्तीय प्रणालीमा अधिक तरलता कायम रहँदा स्वदेशी मुद्राबाट हुने खुद ब्याज आम्दानी भने थप ऋणात्मक बनेको छ । गत आर्थिक वर्षमा यस शीर्षकमा २२ अर्ब ५ करोड ९५ लाख रुपैयाँ नोक्सानी भएको छ । अघिल्लो वर्ष यस्तो नोक्सानी ७ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ थियो ।
विदेशी मुद्राबाट भएको आम्दानी र स्वदेशी मुद्रातर्फको नोक्सानी समायोजन गर्दा राष्ट्र बैंकको कुल खुद ब्याज आम्दानी ९४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८७ अर्ब ५ करोड रुपैयाँ थियो ।
त्यस्तै, राष्ट्र बैंकको कुल खुद सञ्चालन आम्दानी ९३ अर्ब ९२ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८८ अर्ब २० करोड ८७ लाख रुपैयाँ थियो । अन्य आम्दानीतर्फ भने राष्ट्र बैंकले नोक्सानी व्यहोरेको छ । विदेशी विनिमय कारोबारबाट भएको वास्तविक लाभ तथा हानिअन्तर्गत २ अर्ब १३ करोड ८८ लाख रुपैयाँ नोक्सानी देखिएको छ । अघिल्लो वर्ष यस्तो नोक्सानी ८ करोड ९० लाख रुपैयाँ मात्र थियो । त्यसैगरी, अन्य खुद आम्दानी ९३ करोड २५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस शीर्षकमा १ अर्ब ४० करोड २० लाख रुपैयाँ सकारात्मक आम्दानी थियो ।
बैंकले शुल्क तथा कमिसनबाट १ करोड ९४ लाख रुपैयाँ र सुन प्रमाणपत्रबाट ८६ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । यसैबीच, राष्ट्र बैंकको सञ्चालन खर्च पनि बढेको छ । गत आर्थिक वर्षमा कुल सञ्चालन खर्च १० अर्ब ३५ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च ७ अर्ब ७२ करोड ६० लाख रुपैयाँ थियो । यसअनुसार सञ्चालन खर्च करिब ३४ प्रतिशतले बढेको छ ।
कुल सञ्चालन खर्चमध्ये कर्मचारी खर्चमा ५ अर्ब ४० करोड ९० लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, नोट छपाइमा २ अर्ब ६४ करोड ७९ लाख रुपैयाँ, प्रशासनिक खर्चमा १ अर्ब ८२ करोड २६ लाख रुपैयाँ तथा ह्रासकट्टी, परिशोधन र सम्पत्ति क्षतिबापत ४७ करोड २९ लाख रुपैयाँ खर्च भएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण निर्धारित समयमै सम्पन्न गरेको जनाएको छ । २०८३ मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरेको हो । सञ्चालक समितिले बैंकको खुद नाफाबाट विभिन्न आवश्यक कोषमा रकम विनियोजन गरेपछि बाँकी बचत रकममध्ये ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।