बराह सहकारीका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ, ५ अर्ब ८८ करोड हिनामिनाको आरोप
गुरुङका अनुसार धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा आफूले पूर्वका सहकारी पीडित बचतकर्ताको समस्या नजिकबाट सुनेका थिए ।
काठमाडौं । बराह बचत तथा ऋण सहकारी संस्थाको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिनाको आरोप लागेका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् ।
गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विश्वकर्मालाई पक्राउ गरेको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बराह सहकारीका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको बताएका छन् ।
गुरुङका अनुसार धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा आफूले पूर्वका सहकारी पीडित बचतकर्ताको समस्या नजिकबाट सुनेका थिए । त्यतिबेलादेखि नै बचतकर्ताको पीडाले आफूलाई झकझकाइरहेको उनले उल्लेख गरेका छन् ।
अभियन्ताका रूपमा रहँदा तथा जेनजी आन्दोलनपछिका प्रयासमा तत्कालै पीडितलाई न्याय दिलाउन नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेको पहिलो दिनदेखि नै उनीहरूको समस्या समाधानका लागि खोजी तीव्र पारिएको गुरुङको भनाइ छ ।
विश्वकर्मालाई पक्राउ गर्नुलाई सहकारी पीडितलाई न्याय दिलाउने प्रक्रियाको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै उनले अब यस प्रकरणमा संलग्न अन्य दोषीको खोजी तथा कारबाहीको प्रक्रिया पनि तीव्र बनाइने बताएका छन् । उनले पूर्वका नागरिकको पीडालाई न्याय दिलाउने प्रयास निरन्तर जारी रहने पनि बताएका छन् ।