रास्वपा प्रतिनिधिमण्डल र सिचुवानका सचिव वाङबीच भेट, पाँच क्षेत्रमा सहकार्य प्रस्ताव
भेटमा विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, स्वच्छ ऊर्जा, आधुनिक कृषि, संस्कृति तथा पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव नेपाली पक्षले राखेको थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तीय सचिव वाङ स्याओहुईसँग भेटवार्ता गरेको छ । चेङ्दुमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई विकास, लगानी र साझा समृद्धिमा केन्द्रित गर्दै सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो ।
भेटमा विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, स्वच्छ ऊर्जा, आधुनिक कृषि, संस्कृति तथा पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव नेपाली पक्षले राखेको थियो । विशेषगरी सीमापार यातायात, पर्वतीय अध्ययन तथा विपद् प्रतिकार्य, हरित उद्योग, हवाई सम्पर्क, व्यापार र डिजिटल नवप्रवर्तनलाई प्राथमिकतामा राखिएको थियो ।
रास्वपा प्रतिनिधिमण्डलले सुरक्षित तथा भरपर्दो सीमापार सडक, सुक्खा बन्दरगाह, आधुनिक भन्सार प्रणाली, बाढीको पूर्वसूचना, मौसम पूर्वानुमान र विपद् पूर्वतयारीमा चीनसँग सहकार्य गर्न प्रस्ताव गरेको छ । त्यस्तै, जलविद्युत्, हरित हाइड्रोजन, विद्युतीय सवारीसाधन, ब्याट्री उत्पादन तथा प्रविधि हस्तान्तरणमा साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएको थियो ।
नेपाली पक्षले चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवामा थप प्रत्यक्ष हवाई सम्पर्क विस्तार, नेपाली चिया, जडीबुटी, फलफूल तथा हस्तकलाको निर्यात प्रवर्द्धन र कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर, प्राविधिक तालिम तथा हरित तथ्याङ्क केन्द्रमा सहकार्यको प्रस्तावसमेत गरेको थियो ।
सिचुवानका सचिव वाङले नेपाल र चीनबीचको ऐतिहासिक मित्रता तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै रास्वपाको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताएका थिए । उनले दुई देशका राजनीतिक नेतृत्वबीच भएका समझदारी कार्यान्वयन तथा स्थानीय तहमा पार्टी र सरकारी सम्बन्ध विस्तारका लागि सिचुवानले सहयोग गर्ने उल्लेख गरेका थिए । भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको सहयोग, विकासका आयोजना तथा पारस्परिक लाभका क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।