दानबहादुरको रिट निवेदनमा कारण देखाऊ आदेश जारी, दुवै पक्षलाई छलफलमा बोलाइयो
कार्कीले आफूलाई सुनुवाइको अवसरसमेत नदिई कानुनी आधार र पर्याप्त कारणबिना प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयका सम्बन्धमा कारण देखाउन विपक्षीहरूका नाममा आदेश जारी गरेको हो । साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन बोलाइएको छ । कार्कीले आफूलाई सुनुवाइको अवसरसमेत नदिई कानुनी आधार र पर्याप्त कारणबिना प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो । उनको स्थानमा सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।
सरकारको उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै कार्कीले निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गरी आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न माग गरेका छन् ।
त्यसैगरी, नवनियुक्त प्रहरी महानिरीक्षक केसीको नियुक्तिसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशको मागसमेत रिटमा गरिएको छ । सर्वोच्च अदालतको कारण देखाउ आदेशसँगै अब सरकार पक्षले आफ्नो निर्णयको कानुनी आधार प्रस्तुत गर्नुपर्नेछ । अन्तरिम आदेशका विषयमा दुवै पक्षको छलफलपछि अदालतले थप निर्णय गर्नेछ ।