चोरीका गरगहना तथा नगदसहित जय बागेश्वरीबाट एक जना पक्राउ
प्रहरीले उनको साथबाट पहेँलो धातुका चुरा, सिक्री, लकेट, औँठी, मुन्द्रा, टप, नथिया, सिक्का लगायतका गरगहना तथा चाँदीजस्तो देखिने सिक्का, गिलास, चम्चा, लोटा, पाउजु, मूर्ति, कचौरा र अन्य सामग्री बरामद गरेको छ ।
काठमाडौं । काठमाडौंको जय बागेश्वरीस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ जय बागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोल रहेका छन् ।
प्रहरीका अनुसार मंसिर १ गते दिउँसो करिब साढे २ बजे जय बागेश्वरीस्थित एक घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट टोली खटिएको थियो । खोजतलास तथा अनुसन्धानका क्रममा बागमती प्रदेश ०२–०३६ प ४९७५ नम्बरको स्कुटरमा सवार डंगोललाई प्रहरीले फेला पारेको थियो ।
उनको घरको कोठामा खानतलासी गर्दा चोरीका विभिन्न गरगहना तथा सामान फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट पहेँलो धातुका चुरा, सिक्री, लकेट, औँठी, मुन्द्रा, टप, नथिया, सिक्का लगायतका गरगहना तथा चाँदीजस्तो देखिने सिक्का, गिलास, चम्चा, लोटा, पाउजु, मूर्ति, कचौरा र अन्य सामग्री बरामद गरेको छ ।
त्यस्तै, भारतीय रुपैयाँ १६ हजार ७१६ र नेपाली रुपैयाँ ४१ हजार नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
डंगोललाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।