नबिल बैंकद्वारा सेयरधनीहरूलाई १५.८० प्रतिशत लाभांश प्रस्ताव

विज्ञापन
ncell

बोनस सेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा छुट्याइएको छ ।

काठमाडौं । नबिल बैंकले आफ्ना सेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र करसहित १०.८० प्रतिशत नगद लाभांश समावेश छ । बोनस सेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा छुट्याइएको छ । नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा प्रस्ताव गरिएको छ ।

त्यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा पनि नगद लाभांश प्रस्ताव गरेको छ। उक्त सेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा वितरण गर्ने प्रस्ताव छ ।

अग्राधिकार सेयरतर्फ बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ। साधारण सेयरतर्फ बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ७२९ रुपैयाँ २६ पैसा छ ।

 बैंकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण गरिनेछ ।