राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेबाट ३ अर्बको ऋणपत्र जारी गर्दै, ब्याज ६ प्रतिशत
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । ऋणपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तानी गरिनेछ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ असोज २९ गतेदेखि निष्कासन गर्न लागेको हो । ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन् ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । ऋणपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तानी गरिनेछ ।
कुल ३० लाख कित्तामध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । यसबाट बैंकले १ अर्ब ८० करोड रुपैयाँ जुटाउनेछ । बाँकी १२ लाख कित्ता अर्थात् ४० प्रतिशत सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ, जसबाट १ अर्ब २० करोड रुपैयाँ उठाउने लक्ष्य बैंकको छ ।
सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
ऋणपत्रको निष्कासन असोज २९ गतेदेखि खुला हुनेछ । मागअनुसार आवेदन परेमा कात्तिक १० गते बैंकिङ समयपछि निष्कासन बन्द हुनेछ । पर्याप्त आवेदन नपरेमा कात्तिक १२ गते बैंकिङ समयपछि निष्कासन बन्द गरिनेछ ।
सर्वसाधारणले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसका लागि प्रतिकित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ हजार रुपैयाँ लगानी गर्नुपर्नेछ । अधिकतम भने निष्कासनमा उपलब्ध सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।
ऋणपत्र निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्गस नेपालले बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । उक्त रेटिङले बैंक आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्छ ।
ऋणपत्रबाट प्राप्त ब्याजमा प्रचलित कानुनअनुसार कर कट्टा गरी प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि भुक्तानी गरिने बैंकले जनाएको छ ।