संस्थापक समूहको सेयर अभौतिकीकरण गर्ने प्रस्ताव पुनर्विचार गर्न एनआरएनएको सरकारसमक्ष माग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेडले हालै नेपाल धितोपत्र बोर्डसमक्ष पेस गरेको संस्थापक सेयरको आभैतिकीकरण गर्ने प्रस्ताव पुर्नविचार गर्न आग्रह गरेको छ ।
संघले एक विज्ञप्तिमार्फत सीडीएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक समूहको सेयर अभौतिकीकरण प्रक्रियामा संस्थापक र सर्वसाधारण सेयर गरी दुई वटा (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) आईजिन नम्बरको व्यवस्था गर्ने भनेर प्रस्ताव पुनर्विचार गर्न सरकारसमक्ष माग गरेको हो ।
उक्त प्रस्तावले नेपालको पुँजी बजार, लगानी वातावरण, र गैरआवासीय नेपालीको लगानी नेपालमा ल्याउने योजनामा नकारात्मक असर पार्ने संघको दाबी छ ।
यस्तो प्रस्ताव कार्यान्वयनमा गएमा विदेशमा बसोबास गर्ने नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलिने, सेयर कारोबारमा अन्योल बढ्ने, तथा दीर्घकालीन रूपमा पुँजी बजारको स्थायित्व र पारदर्शितामा गम्भीर असर पर्ने संघको भनाइ छ ।
‘गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउने काम भइरहेकोमा त्यसलाई अझ बढी संगठित रुपमा साना तथा मझौला लगानीलाई समेत नेपालमा भित्र्याउने संघको उद्देश्य रहेको अवगत नै छ । सोहीअनुसार ऊर्जा, पूर्वाधार, पर्यटन, स्टार्टअप तथा वित्तीय क्षेत्रमा गैरआवासीय नेपालीहरूद्वारा उल्लेखनीय लगानी हुने क्रम बढिरहेको छ । गैरआवासीय नेपालीहरूबाट नेपालमा हुने लगानी अहिलेको आर्थिक सुधार र पूर्वाधार विकासमा महत्वपूर्ण स्रोत हो । तर विश्वभरिका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी हुन तथा आफ्नो ज्ञान, सीप र पुँजी नेपालमा भित्र्याउन सहज वातावरण निर्माण गर्नुपर्नेमा यस प्रस्तावित निर्देशिकाले लगानीमा ठूलो असर पर्ने यस संघको ठहर छ,’ संघले विज्ञप्तिमा भनेको छ ।