कोरियाबाट फर्केका युवालाई कोरियन खाना बनाउने तालिम
काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था कोइका र कोरियाली मानव स्रोत विकास सेवा (एचआरडी) ले कोरियाबाट फर्केका युवाहरूलाई कोरियाली खानेकुरा तयार गर्ने तालिम प्रदान गरेको छ ।
साउन १९ देखि २६ गतेसम्म हिमालयन हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर, काठमाडौंमा तालिम प्रदान गरिएको हो । रोजगारीका लागि कोरिया पुगेर फर्केका ७ पुरूष र ८ महिला गरी कुल १५ जना युवाहरूलाई एक हप्ताको तालिम उपलब्ध गराइएको हो ।
४५ घन्टाको तालिममा सहभागीहरूले किम्ची, किम्बाब, कोरियाली स्ट्यू तथा ट्टोकबोकीजस्ता व्यञ्जनहरु तयार गर्न सिकेका हुन् ।
यो तालिमले फर्किएर देशमै केही गर्न खोजिरहेकाहरूलाई पुनस् एकीकरणका लागि सहयोग पुग्ने विश्वास कोरियाली अधिकारीहरूको छ । युवाहरूमा उद्यमशीलता विकास हुने विश्वास समेत लिइएको छ । नेपालका लागि कोरियाली राजदूत पार्क तेयोगले तालिममा सहभागीहरूलाई बधाई दिए ।