लक्ष्मी सनराइजको नाफा ४१ प्रतिशतले बढ्दा लाभांस क्षमता १२.३४ रुपैयाँ

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा छ ।

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षमा खुद नाफा अघिल्लो वर्षको तुलनामा ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ पु¥याएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९२ करोड ३ लाख ७९ हजार रुपैयाँ नाफा गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज उल्लेख्य मात्रामा घटेका कारण लक्ष्मी सनराइजको नाफा बढ्न सहयोग पुगेको हो । इम्पेरमेन्ट चार्ज अघिल्लो वर्ष ३ अर्ब ५८ करोड ८० लाख ६० हजार रुपैयाँ रहेकोमा गत वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार १ अर्ब १८ करोड २ लाख ४६ हजार रुपैयाँ छ ।

असारसम्म बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ६३ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । यद्यपी यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी भने बढेको । बैंकको सञ्चालन नाफा ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ रहँदा वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रुपैयाँ पुगेको छ । यसबाट लक्ष्मी सनराइजले सेयरधनीलाई १२ रुपैयाँ ३४ पैसा लाभांश दिने क्षमता राख्छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा छ ।

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लक्ष्मी सनराइजको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ छ । गत आर्थिक वर्षसम्म बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४ करोड १ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।