राष्ट्रिय वाणिज्य बैंकको नाफा ३८१ करोड, लाभांश क्षमता १.९४ प्रतिशत मात्र
बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख रुपैयाँ मात्र छ । जुन लाभांश क्षमता १.९४ प्रतिशत मात्र हुन्छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले मात्र सर्वसाधरणलाई सेयर विक्री गरेको छैन ।
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको तुलनामा गत वर्षको नाफा ४९.५३ प्रतिशतले बढी हो ।
बैंकले सार्वजनिक गरेको गत वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार यसअवधिमा १० अर्ब ८ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ छ । बैंकले कुल सञ्चालन आम्दानी १२ अर्ब ८४ करोड ३७ लाख गर्दा सञ्चालन नाफा भने ५ अर्ब ३८ करोड २५ लाख रुपैयाँ छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ हुँदा वितरणयोग्य नाफा भने ३० करोड ३४ लाख रुपैयाँ मात्र छ । जुन लाभांश क्षमता १.९४ प्रतिशत मात्र हुन्छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले मात्र सर्वसाधरणलाई सेयर विक्री गरेको छैन ।
चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको राष्ट्रिय वाणिज्य बैंक जगेडा कोषमा ३७ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ छ । गत असारसम्म बैंकले ५ खर्ब ४१ करोड ४६ लाख निक्षेप संकलन गरि २ खर्ब ९४ अर्ब १८ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.५९ प्रतिशत छ ।