भदौ १८ गतेदेखि आरबिबि फोकस ४० बिक्री गर्दै आरबिबि मर्चेन्ट बैंकिङ

न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । निष्काशन बन्द छिटोमा भदौ २२ गते र सयमै बिक्री नभएमा असोज १ गतेसम्म निष्काशन अवधि रहने छ ।

आबिबि मर्चेन्ट बैंकिङले आफ्नो व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई भदौ १८ गतेदेखि विक्री गर्ने भएको छ । 

आरबिबि मर्चेन्टले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड आरबिबि फोकस ४० को इकाई बिक्री गर्न लागेको हो । त्यसमध्ये न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्री इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई वा कुल बिक्री इकाई संख्याको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्टका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्छन् ।

यस योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । निष्काशन बन्द छिटोमा भदौ २२ गते र सयमै बिक्री नभएमा असोज १ गतेसम्म निष्काशन अवधि रहने छ । १२ वर्ष अवधिको आरबिबि फोकस ४० योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।

इकाई निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कोष प्रबद्र्धकलाई केयर एनपी ए प्लस इस्यूअर रेटिङ र योजना व्यवस्थापकलाई इक्रा नेपालले इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ दिएको छ । 

यस योजनाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको धितोपत्रको आन्तरिक मूल्यांकन गरी उच्चतम प्रतिफल दिने सम्भाव्य ४० कम्पनीहरुलाई प्राथमिकतामा राखी लगानी गर्ने योजना बनाएको छ । साथै समय र परिस्थिति अनुसार मूल्यांकन गर्दा ४० वटा कम्पनीभन्दा बढी कम्पनीको शेयरमा समेत लगानी गर्न सकिने जनाएको छ ।