सुस्ताउँदै मनसुन, केही ठाउँमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागलगायत देशको बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं । आज पनि मनसुन केही सुस्त हुने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही सुस्त रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सुस्त भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको महाशाखाले जनाएको छ । त्यसैले देशभर साधारणतया बदली रहनेछ । आज कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागलगायत देशको बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको तराई र बाग्मतीको पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ ।