भदौ १६ गतेदेखि बुङ्गल हाइड्रोको आईपीओ निष्काशन

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख ७ हजार ५०० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले सञ्चालन गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल छ। सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।