सेयर बजार ओरालो लाग्ने क्रम जारी, काराेबार रकममा भने वृध्दि

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १८.०२ अंक घटेर नेप्से परिसूचक २७३९.९५ मा ओर्लिएकाे छ । कारोबार सुरुवातपछि बढेको बजार ११ : १७ बजे २७७० अंकमा पुगे पनि त्यसपछिको ओरालो लाग्ने क्रम अन्तिम समयसम्म कायम रह्यो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब २ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५४ करोडको भयो ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५ अर्ब २ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ३२३ स्टकको ५८ हजार १०५ पटकको कारोबारमा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड ४० लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

विकास हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ३५ रुपैयाँ ३० पैसा बढेर ३८८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ७.२९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये आज १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशत घटेको छ । त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।