९१ लाख ५० हजार रुपैयाँसहित अनलाइन जुवा र लागू औषधमा संलग्न युवक पक्राउ
काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं. ४ शान्तिकुना मार्गस्थित कोठा भाडामा बस्दै आएका २६ वर्षीय गौरव स्याङतान पक्राउ परेका छन्। सिन्धुली कमलामाई नगरपालिका वडा नं. २ पिपलभन्ज्याङका स्थायी घर भएका उनी अनलाइन जुवा (सट्टावाजी) र लागू औषधसम्बन्धी मुद्दामा संलग्न रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
२०८२ भदौ ९ गते बेलुकी करिब १७:३० बजेको समयमा अनलाइन जुवा खेल्ने खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीको संयुक्त टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन्।
स्याङतान बस्दै आएको डेराकोठामा खानतलासी गर्दा नेपाली रुपैयाँ ५०० र १,००० का नोटहरु सहित जम्मा ९१ लाख ५० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। सो त्यसैगरी खानतलासीकै क्रममा कोठामा लुकाइ राखिएको अवस्थामा गाँजा जस्तो देखिने पदार्थ भेटिएको र तौल गर्दा १ केजी ५०० ग्राम भएको समेत प्रहरीले जनाएको छ।