जीवन बीमाको पहुँच ५०.३१ प्रतिशत पुग्यो, अझै आधा जनसंख्या दायराबाहिर

अझै ४९.६९ प्रतिशत जनसंख्या भने बीमाको पहुँच बाहिर रहेको देखिएको छ

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्म नेपालमा जीवन बीमाको पहुँच ५०.३१ प्रतिशत पुगेको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमामा भएको ७.६५ प्रतिशतको वृद्धिसँगै समग्र बीमा पहुँचमा सुधार देखिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको २०७८ सालको जनगणना प्रतिवेदनमा आधारित जनसंख्या वृद्धि प्रक्षेपणअनुसार २०८२ चैत्र मसान्तसम्मको अनुमानित जनसंख्यालाई आधार मानेर गरिएको गणनामा अझै ४९.६९ प्रतिशत जनसंख्या भने बीमाको पहुँच बाहिर रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा समाचार बिचार ५८औं वार्षिकोत्सव विशेष, २०८३ अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्ममा वैदेशिक रोजगार म्यादी जीवन बीमाको दायरा ७.६५ प्रतिशत बढे सँगै जीवन बीमाको दायरामा ५०.३१ प्रतिशत पुगेको छ । आ.व २०७८/७९ को असार मसान्तसम्ममा बीमाको दायरा ४१.२० प्रतिशत रहेकोमा क्रमश: ४४.३८ प्रतिशत, ४३.२७ प्रतिशत र आ.व २०८१/८२ मा बीमाको दायरा ४८.३३ प्रतिशत पुगेको थियो । 

बीमा क्षेत्रको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म जीवन बीमाको पहुँच विस्तारमा वैदेशिक रोजगार म्यादी जीवन बीमाले महत्वपूर्ण योगदान दिएको छ । कुल जनसंख्यामध्ये वैदेशिक रोजगार बीमाको पहुँच ७.६५ प्रतिशत पुगेको छ ।

त्यस्तै, म्यादी जीवन बीमाको पहुँच २४ प्रतिशत रहेको छ भने सावधिक, एकल तथा आजीवन बीमाको पहुँच १८.२४ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । लैङ्गिक आधारमा हेर्दा सावधिक, एकल तथा आजीवन बीमामा पुरुषको हिस्सा ५३ प्रतिशत र महिलाको ४७ प्रतिशत रहेको छ । म्यादी जीवन बीमामा भने महिलाको सहभागिता बढी देखिएको छ । यसमा महिलाको हिस्सा ६६ प्रतिशत तथा पुरुषको ३४ प्रतिशत रहेको छ ।

वैदेशिक रोजगार जीवन बीमामा भने पुरुषको वर्चस्व देखिएको छ । यस प्रकारको बीमामा पुरुषको हिस्सा ८९ प्रतिशत रहेको छ भने महिलाको हिस्सा ११ प्रतिशत मात्रै रहेको तथ्याङ्कले देखाएको छ ।

अघिल्ला वर्षहरूको तुलनामा जीवन बीमाको पहुँचमा क्रमिक सुधार देखिए पनि अझै करिब आधा जनसंख्या बीमाको दायराबाहिर रहनुले बीमा सचेतना र पहुँच विस्तारमा थप काम गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।