विद्युत् प्राधिकरणलाई तीन अलगअलग कम्पनी बनाईने, टेक अर पे’ मोडेलमा पिपीए गरिने

१० मेगावाटभन्दा कम क्षमताका विद्युत् आयोजनाको तत्काल पिपीए गरिने तथा निजी क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न पाउने कानुनी व्यवस्था मिलाउने छ ।

काठमाडौं । अर्थमन्त्री डा वाग्लेले बजेटमार्फत नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण तथा व्यापारका लागि तीन अलगअलग कम्पनीमा पुन:संरचना गर्ने योजना अगाडि सारिएको छ । विद्युत् खरिद सम्झौता (पिपीए) भएर पनि निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गरी नयाँ ‘टेक अर पे’ मोडेलमा पिपीए गरिने व्यवस्था प्रस्ताव गरिएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘स्वच्छ ऊर्जा बन्ड’ र ‘डायस्पोरा बन्ड’ जारी गरी जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको जानकारी दिए । यस्तै, १० मेगावाटभन्दा कम क्षमताका विद्युत् आयोजनाको तत्काल पिपीए गरिने तथा निजी क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न पाउने कानुनी व्यवस्था मिलाउने छ ।

यस्तै, प्रसारण लाइन निर्माण गरी प्रसारण शुल्क लिएर विद्युत् व्यापार गर्न सकिने व्यवस्था गरिएको छ । ठूला तथा जलाशययुक्त आयोजना विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न प्रवद्र्धकले शतप्रतिशत लगानी सुनिश्चित गरेमा पहिलो वर्षमै ४० प्रतिशतसम्म सेयर सर्वसाधारणलाई बिक्री गर्नसक्ने नीति सरकारले अघि सारिएको छ ।