संसदमा आजबाट बजेटमाथि छलफल, निर्वाध सदन चल्नेमा भने आशंका

नेपाल-भारत सीमालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अघि बढ्न नदिने विपक्षी दलहरूको अडान कायमै छ । सत्तारुढ र विपक्षी दलबीच सदन खुलाउने विषयमा सहमति नभएकाले सदन निर्वाध चल्ने सम्भावना कम छ ।

काठमाडौं। संघीय संसदमा आजदेखी आर्थिक वर्ष २०८३-८४ को बजेटमाथी छलफल हुने कार्यसूची छ । त्यसका लागि प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । 

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ । त्यसपछि बजेटमाथी छलफल हुनेछ ।

त्यसअघि आजकै वैठकको सुरुवातमा सभामुख डोलप्रसाद (डीपी) आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

यद्यपी नेपाल-भारत सीमालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अघि बढ्न नदिने विपक्षी दलहरूको अडान कायमै छ । सत्तारुढ र विपक्षी दलबीच सदन खुलाउने विषयमा सहमति नभएकाले सदन निर्वाध चल्ने सम्भावना कम छ । सदन सुरु हुनुअघि सहमति भएमा भने निर्वाध सदन चल्नेछ र बजेटमाथी प्रारम्भिक छलफल अघि बढ्ने छ । सोमबार पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध भएको छ ।