‘मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड’

बदलिँदो विश्व परिवेशअनुसार आफूलाई परिमार्जन गर्न नसक्दा विकासको गति अवरुद्ध भएको उल्लेख गर्दै उनीहरूले पुरानो पुस्ताको ‘कम्फर्ट जोन’ र परम्परागत नेतृत्वका मानकहरू परिवर्तन हुनुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौं । समाज र राज्य प्रणालीमा सुधार ल्याउन समयसापेक्ष परिवर्तन तथा युवा नेतृत्व अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् । 

बदलिँदो विश्व परिवेशअनुसार आफूलाई परिमार्जन गर्न नसक्दा विकासको गति अवरुद्ध भएको उल्लेख गर्दै उनीहरूले पुरानो पुस्ताको ‘कम्फर्ट जोन’ र परम्परागत नेतृत्वका मानकहरू परिवर्तन हुनुपर्नेमा जोड दिएका हुन् । पछिल्लो समय युवा पुस्ता (जेन-जी) मा देखिएको राजनीतिक सचेतना र सक्रियताले मुलुकमा सुशासन र समृद्धिको नयाँ ढोका खोल्न सक्ने उनीहरूको विश्लेषण छ । 

ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ एवं नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशक डा. जगदीशकुमार क्षेत्रीले समाज र राज्य प्रणालीमा सुधार ल्याउन समयसापेक्ष परिवर्तन अपरिहार्य रहेको बताएका छन् । निर्देशक डा.क्षेत्रीले बदलिँदो विश्व परिवेशअनुसार आफूलाई परिमार्जन गर्न नसक्नु नै मुख्य समस्या रहेको बताएका हुन् । क्षेत्रीकाअनुसार पुरानो पुस्ता लामो समयसम्म एउटै ‘कम्फर्ट जोन’ मा बस्न रुचाउने र नयाँ कुरा सिक्न हिचकिचाउने प्रवृत्तिका कारण विकासको गतिमा अवरोध पुगेको छ । नेपालमा पहिलो पटक ‘नेपाल जेरियाट्रिक्स सेन्टर’ सञ्चालनमा ल्याउँदाका चुनौतीहरू स्मरण गर्दै दक्षिण एशियामै नयाँ अवधारणा भएपनि यसलाई स्थापित गर्न र बुझाउन निकै मिहिनेत गर्नुपरेको उल्लेख गरेका छन् । परम्परागत नेतृत्व र युवा पुस्ताको चाहनाका विषयमा चर्चा गर्दै डा. क्षेत्रीले नेपालमा नेतृत्वका लागि पाको उमेर हुनुपर्ने वा लामो समय संघर्ष गरेको हुनुपर्ने पुरानो मानक अझै कायमै रहेको बताएका छन् । वर्तमान सामाजिक तथा राजनीतिक परिवर्तनलाई प्रणाली ‘अपडेट’ हुने प्रक्रियाको रूपमा व्याख्या गरेका छन् । कम्प्युटर सफ्टवेयर अपडेट हुन समय लागे झैँ सामाजिक परिवर्तन पनि क्रमिक रूपमा हुने उनिको बुझाइ छ । यो परिवर्तनले युवा पुस्तामा ‘हामी पनि सक्षम छौँ र अन्तर्राष्ट्रिय स्तरको उपलब्धि हासिल गर्न सक्छौँ’ भन्ने आत्मविश्वास जगाउने डा.क्षेत्रीले विश्वास व्यक्त गरेका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक प्रा.डा.अर्जुनकुमार बरालले परिवर्तनलाई आत्मसात गर्ने राष्ट्रले मात्र विकासको गति समात्न सक्ने बताएका छन् । ‘जेन-जी मुभमेन्ट’ लाई सोही परिवर्तनको एक कडीका रूपमा व्याख्या गर्दै उहाँले संसारको विकासक्रममा परिवर्तन अपरिहार्य रहेको उल्लेख गरेका छन् । नेपालको ऐतिहासिक कालखण्डलाई स्मरण गर्दै प्रा.डा. बरालले राणा शासनको अन्त्य, २०४६ सालको बहुदलीय व्यवस्थाको पुनस्र्थापना, माओवादी सशस्त्र विद्रोह र २०६२/६३ को जनआन्दोलनमार्फत स्थापित गणतन्त्र एवं सङ्घीयतालाई परिवर्तनका महत्वपूर्ण कोशेढुङ्गाका रूपमा चित्रण गरेका छन् । नेपालमा विगतदेखि नै करिव हरेक १० देखि १५ वर्षको अन्तरालमा ठूला राजनीतिक तथा सामाजिक परिवर्तनहरू हुँदै आएका छन् । बरालले छिमेकी मुलुक चीनले परिवर्तनका प्रवाहहरूलाई तिब्र रूपमा अङ्गीकार गरेका कारण नै छोटो समयमा अभूतपूर्व विकास गरेको र भारतले पनि सोही बाटो पछ्याउँदै विश्वकै बलियो अर्थतन्त्रका रूपमा आफूलाई उभ्याएको उहाँले उदाहरण दिएका छन् । अमेरिका र युरोपको विकासको मूल आधार पनि परिवर्तनप्रतिको सकारात्मक दृष्टिकोण नै रहेको तर्क छ । वर्तमान समयमा युवा पुस्ता (जेन-जी) मा देखिएको सक्रियता र आन्दोलनलाई पनि विकासको स्वाभाविक प्रक्रियासँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

 परिवर्तन बिना संसार अगाडि बढ्न नसक्ने र विकास असम्भव हुने उल्लेख गर्दै अहिलेको युवा आन्दोलनलाई सोही परिवर्तनको आवश्यकता र प्रवाहका रूपमा अर्थएका छन् । त्रिभूवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागकी उप(प्राध्यापक अपेक्षा शाहले नेपालमा विकास र सुशासनको गति सुस्त रहे पनि नागरिकको आवाज भने क्रमशः सशक्त बन्दै गएको बताएका छन्। पछिल्ला राजनीतिक तथा सामाजिक घटनाक्रमलाई विश्लेषण गर्दै गत जेन-जी पुस्ताको जनआक्रोशलाई दशकौँदेखिको सञ्चित असन्तुष्टिको परिणामका रूपमा चित्रण गरेका छन् । शाहकाअनुसार पछिल्ला आन्दोलनहरू (जेन-जी) विशेष गरी आर्थिक र सुशासनका स्पष्ट मुद्दाहरूमा केन्द्रित थिए । विगत दुई वर्षदेखि माईतीघर लगायतका स्थानमा भइरहेका शिक्षक तथा विभिन्न समूहका निरन्तर आन्दोलनहरूले समाजमा गहिरो असन्तुष्टि व्याप्त रहेको संकेत गरेको तर्क छ ।

 नीति निर्माता र आम जनताबीच ठूलो खाडल देखिएको उल्लेख गर्दै यो आन्दोलन लामो समयदेखि थुप्रिएको आक्रोशको स्वतस्फूर्त विस्फोट भएको बताएका छन् । नीति निर्माताहरूसँग परिस्थितिको गम्भीर समीक्षा गर्ने पर्याप्त समय भएपनि जनभावनाको सही कदर हुन नसक्दा वर्तमान अवस्था सिर्जना भएको ठम्याइ छ । पछिल्लो समय नेपाली युवा पुस्ता मा राजनीतिक सचेतना र सक्रियता उल्लेख्य रूपमा वृद्धि भएको छ । थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईआईटी) बाट ‘बिजनेस एनालिटिक्स र डिजिटल ट्रान्सफर्मेसन’ मा स्नातकोत्तर गरेकी नेहा दाहालले युवाहरूमा आएको यो परिवर्तनलाई सकारात्मक राजनीतिक जागरणको रूपमा व्याख्या गरेका छन् । गत वर्षको जेन-जी प्रदर्शनलाई एउटा महत्वपूर्ण मोड मान्दै दाहालले उक्त आन्दोलनले राजनीतिप्रति उदासीन रहेका युवाहरूलाई समेत जागरुक बनाएको उल्लेख गरेका छन् । विगतमा राजनीति र शासकीय व्यवस्थाप्रति खासै चासो नराख्ने युवा पुस्ता अहिले देशको समसामयिक परिस्थिति, नीति निर्माण र बजेटजस्ता गम्भीर विषयमा समेत बहस र पैरवी गर्न सक्षम भएका छन् ।

दाहालले गत वर्षको उक्त प्रदर्शन वर्षौंदेखि युवाहरूमा दबिएर रहेको असन्तुष्टिको सामूहिक प्रस्फुटन भएको बएका छन् । यो जागरणले युवाहरूलाई केवल विरोध प्रदर्शनमा मात्र सिमित नराखी देशको समग्र राजनीतिक र आर्थिक अवस्थालाई नजिकबाट नियाल्न र विश्लेषण गर्न प्रेरित गरेको छ । शिक्षित र दक्ष युवाहरूको यो बढ्दो राजनीतिक चासोले मुलुकको भविष्य र नेतृत्व परिवर्तनको दिशामा महत्वपूर्ण भुमिका खेल्ने देखिएको छ । जोन्टा स्कलर तथा ‘नेपाल टि कलेक्टिभ’की पिपल, कल्चर एण्ड बिजनेस अपरेसन प्रमुख वर्षा कटुवालले कुनैपनि नयाँ सुधार वा परिवर्तनका दुईवटा पाटा हुने उल्लेख गर्दै जेन-जी आन्दोलनको मुख्य उद्देश्य परम्परागत नेतृत्व र अपारदर्शी निर्णय प्रक्रियाको अन्त्य गर्नु रहेको बताएका छन् । विगतमा सरकारी निर्णय प्रक्रियामा आम नागरिकको पहुँच नहुने र नातावाद व्याप्त रहने गरेकोमा त्यसको विकल्पमा नयाँ प्रणालीको खोजी भएको उनको भनाइ छ । नयाँ सरकार गठनसँगै मुलुक अहिले संक्रमणकालीन चरणमा रहेको र सरकारले अघि सारेको ‘१०० बुँदे शासकीय सुधार’ को योजना सकारात्मक शुरुवात भएको उल्लेख गरेका छन् । यद्यपि, सुधारका प्रयासहरू जारी रहेकाले यसको ठोस परिणाम देखिन केही समय लाग्ने र त्यो नै नयाँ नेतृत्वका लागि वास्तविक परीक्षा हुने बताएका छन् ।  पछिल्लो समय सरकारी कामकारबाहीमा केही हदसम्म पारदर्शिता बढेको र सूचनामा सर्वसाधारणको पहुँच वृद्धि भएको अनुभव सुनाएका छन् । नेपालको सार्वजनिक र व्यावसायिक क्षेत्रमा आवद्ध कटुवालले पछिल्लो समय नागरिकरू समाचार र सूचनाप्रति बढी जिम्मेवार र सचेत देखिएको बताएका छन् ।