मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, सर्वसाधारण र सरोकारवालासँग माग्यो ५ गतेसम्म सुझाव

सरकारले बजेट ल्याएसँगै बजेटका कार्यक्रमलाई सहयोग पुग्ने, आर्थिक लक्ष्य भेट्ने र मुद्रास्फिति नियन्त्रण गर्ने गरि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्दछ ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३र८४ को मौद्रिक नीति तर्जुमाको तयारी सुरु गरेको छ । संघीय सरकारले जेठ १५ गते बजेट ल्याईसकेको र प्रदेश सरकारहरुले असार १ गते बजेट ल्याउने कानूनी व्यवस्था भएकाले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी सुरु गरेको हो ।

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै मौद्रिक नीतिमा समेटिनुपर्ने विषयहरुसहितको सुझाव पठाउन सरोकारवाला तथा सर्वसाधारणसँग आग्रह गरेको छ । राष्ट्र बैंकले भनेको छ, इच्छुक व्यक्ति, व्यवसायी, वित्तीय क्षेत्रका सरोकारवाला तथा सर्वसाधारणले असार ५ गतेभित्र आफ्नो राय तथा सुझाव राष्ट्र बैंकमा पठाउन अनुरोध छ ।

सुझाव इमेलमार्फत समेत पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले प्राप्त सुझाव अध्ययन तथा विश्लेषणपछि आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिने उल्लेख गरेको छ । सरकारले बजेट ल्याएसँगै बजेटका कार्यक्रमलाई सहयोग पुग्ने, आर्थिक लक्ष्य भेट्ने र मुद्रास्फिति नियन्त्रण गर्ने गरि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्दछ । विगतमा असार अन्तिम वा साउन पहिलो सातासम्म मौद्रिक नीति ल्याउने गरिएकोमा चालू वर्ष केही छिटो आउन सक्ने बताईएको छ ।