स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत (कर समेत) नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४० औं वार्षिक साधारण सभा आगामी मंसिर २३ गते आह्वान गरेको छ । बैंकले २०८३ मंसिर १ गते सूचना प्रकाशित गर्दै काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत (कर समेत) नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने एजेन्डा रहेको छ ।

साथै, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची समेत रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले २०८३ मंसिर १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित १६ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।