विश्व प्रतिष्ठित कान्स कर्पोरेट मिडिया एन्ड टिभी अवार्ड्सको निर्णायक मण्डलमा नेपालका रञ्जीत आचार्य
काठमाडौं । प्रिज्मा एड्भर्टाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जीत आचार्य विश्व प्रतिष्ठित ‘कान्स कर्पोरेट मिडिया एन्ड टिभी अवार्ड्स २०२६’ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित भएका छन् । यससँगै उनी उक्त अवार्डको निर्णायक मण्डलमा स्थान बनाउने पहिलो नेपाली सृजनशील व्यक्तित्व बनेका छन्।
कर्पोरेट फिल्म, ब्रान्डेड कन्टेन्ट तथा भिजुअल स्टोरीटेलिङ क्षेत्रका उत्कृष्ट कृतिहरूलाई सम्मान गर्ने यो अन्तर्राष्ट्रिय अवार्ड सञ्चार तथा सृजनात्मक उद्योगको प्रतिष्ठित मञ्च मानिन्छ । यस्तो विश्वस्तरीय मूल्यांकन प्रक्रियामा नेपाली प्रतिनिधित्व हुनु देशको विज्ञापन तथा रचनात्मक उद्योगका लागि गौरवको विषय बनेको छ ।
सन् २०१० मा स्थापना भएको कान्स कर्पोरेट मिडिया एन्ड टिभी अवार्ड्सको मुख्यालय अस्ट्रियाको भियनामा रहेको छ । प्रत्येक वर्ष फ्रान्सको कान्समा आयोजना हुने यस प्रतियोगिताले कर्पोरेट फिल्म, अनलाइन मिडिया उत्पादन, वृत्तचित्र र प्रतिवेदन निर्माणलगायतका क्षेत्रमा उत्कृष्ट कामको मूल्यांकन गर्दै आएको छ। विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, सञ्चार संस्था तथा विद्यार्थीहरूको सहभागिता रहने यस अवार्डमा यस वर्ष ६३ प्रतिस्पर्धात्मक विधा समावेश छन् ।
विगतमा यस अवार्डको निर्णायक मण्डलमा ओस्कार तथा एमी अवार्ड विजेता व्यक्तित्वहरू समेत सहभागी भइसकेका छन् । गोल्ड, सिल्भर, ब्ल्याक, ब्लु र ह्वाइट डल्फिन ट्रफीलाई कर्पोरेट फिल्म क्षेत्रका प्रतिष्ठित सम्मानका रूपमा लिइन्छ ।
तीन दशकभन्दा लामो समयदेखि विज्ञापन, ब्रान्ड रणनीति, क्रियटिभ निर्देशन, फिल्म निर्माण र जनसम्पर्क क्षेत्रमा सक्रिय आचार्य नेपाली सञ्चार तथा विज्ञापन उद्योगका स्थापित नाम हुन् । उनको नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले ‘बेस्ट एजेन्सी अफ द इयर’ उपाधि चार पटक प्राप्त गरिसकेको छ । साथै, कम्पनी नेपालकै सर्वाधिक पुरस्कार प्राप्त स्वतन्त्र विज्ञापन एजेन्सीका रूपमा परिचित छ ।
आचार्यले नेतृत्व गरेका विभिन्न अभियान नेपाली विज्ञापन क्षेत्रका उल्लेखनीय उदाहरण मानिन्छन्। कोका–कोलाको ‘मन खोलौँ, कोकसँग’ अभियानदेखि एनसेलको पुनर्ब्रान्डिङसम्मका परियोजनाले बजारमा फरक पहिचान बनाएका थिए । एनसेलको पुनर्ब्रान्डिङका क्रममा पहिलो पटक नेपाली पत्रिकाको मास्टहेड बैजनी रङमा प्रकाशन गरिएको अभियानले विशेष चर्चा पाएको थियो ।
‘मुटु चाहिन्छ मुटु’, ‘मुड चेन्ज तुरुन्तै’, ‘चिसो भनेकै कोका–कोला’ र ‘गुडी खाना देऊ’ जस्ता लोकप्रिय नाराहरू पनि आचार्यकै सिर्जना मानिन्छन्, जसले नेपाली उपभोक्ताको दैनिकीमा समेत स्थान बनाएका छन् ।
उनका अन्तर्राष्ट्रिय उपलब्धिहरूमध्ये सन् २००० मा जोन्सन एन्ड जोन्सनबाट प्राप्त ‘बेल रिङ्गर अवार्ड’, सन् २००७ मा एड क्लब मुम्बईको ‘एबी अवार्ड’ तथा हालै सिंगापुरमा प्राप्त ‘ब्रान्ड लरियट बेस्ट ब्रान्ड्स अवार्ड २०२५’ उल्लेखनीय छन् । प्रिज्मा एड्भर्टाइजिङ उक्त सम्मान प्राप्त गर्ने पहिलो नेपाली एजेन्सीसमेत हो ।
विज्ञापन क्षेत्रबाहेक आचार्य नीलबाराही फिल्म्सका प्रबन्ध निर्देशक, बाइस्कोप सिनेमाका संस्थापक निर्देशक, कल्चर इन्टरनेसनल स्कुलका अध्यक्ष तथा डीएनए प्रालिका अध्यक्षका रूपमा समेत सक्रिय छन् । उनी टोस्टमास्टर्स इन्टरनेसनलमा दुई दशकभन्दा बढी समयदेखि नेतृत्वदायी भूमिकामा आबद्ध रहँदै आएका छन्। सन् २०२१–२२ मा डिस्ट्रिक्ट डाइरेक्टरको जिम्मेवारी सम्हालेका आचार्य टोस्टमास्टर्सको सर्वोच्च व्यक्तिगत सम्मान ‘प्रेसिडेन्सियल साइटेसन’ प्राप्त गर्ने नेपालका एकमात्र व्यक्तित्व पनि हुन् ।
जुरी सदस्यमा मनोनयन भएपछि आचार्यले सृजनशीलताको कुनै सीमा वा भूगोल नहुने बताएका छन् । उत्कृष्ट कथा र प्रभावकारी प्रस्तुतीकरणले विश्वव्यापी मान्यता प्राप्त गर्न सक्ने उल्लेख गर्दै उनले आफ्नो यो उपलब्धि व्यक्तिगत मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पुग्ने सपना देख्ने सबै नेपाली सृजनशील व्यक्तिहरूको साझा उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।
उनको मनोनयनलाई नेपालको सृजनात्मक अर्थतन्त्र र विज्ञापन उद्योगका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । अब उनले विश्वभरबाट प्राप्त फिल्म, विज्ञापन र मिडिया सामग्रीको मूल्यांकन गर्ने जिम्मेवारी सम्हाल्नेछन् । यसले नेपाली सिर्जनशीलता, दक्षिण एसियाली कथा वाचन शैली तथा नेपालको अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
विशेषज्ञहरूका अनुसार यो उपलब्धिले नेपाली विज्ञापन तथा सञ्चार उद्योगको अन्तर्राष्ट्रिय विश्वसनीयता र पहिचानलाई थप मजबुत बनाउनेछ ।