लघु/साना व्यवसायीलाई विद्युतीय माध्यमबाट १० लाखसम्म कर्जा, ऋण सीमा र अवधि कस्तो छ ?
बैंक तथा वित्तीय संस्थाहरुमा तलबी एवं पेसागत तथा व्यावसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिको हकमा वित्तीय कर्जाको अधिकतम सीमा ५ लाख रुपैयाँ तोकिएको छ । यो कर्जाको भुक्तानी अवधि ३ वर्षको हुनुपर्नेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन २०७८ मा संशोधन गरेको छ । केन्द्रीय बैंकले आज (सोमबार) परिपत्र जारी गर्दै केही विद्यमान व्यवस्था परिवर्तन भएकाे जनाएको हो । संशोधित मार्गदर्शन अनुसार केन्द्रीय बैंकले मझौला, लघु तथा साना व्यवसायीलाई समेत विद्युतीय माध्यमबाट सहजै ऋण पाउने व्यवस्था गरेको छ ।
संशोधित मार्गदर्शनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुमा तलबी एवं पेसागत तथा व्यावसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिको हकमा वित्तीय कर्जाको अधिकतम सीमा ५ लाख रुपैयाँ तोकिएको छ । यो कर्जाको भुक्तानी अवधि ३ वर्षको हुनुपर्नेछ ।
यसैगरी, अन्य प्राकृतिक व्यक्तिको हकमा यस्तो कर्जाको अधिकतम सीमा २ लाख र भुक्तानी अवधि ३ वर्ष, लघु तथा मझौला व्यवसायी (अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जा) का लागि ५ लाख रुपैयाँ र भुक्तानी अवधि १ वर्ष तथा लघु, साना तथा मझौला व्यवसायी (दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जा) का लागि १० लाख रुपैयाँ र भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जा नीतिबमोजिम कर्जाको भुक्तानी अवधि निर्धारण गर्न सक्ने व्यवस्था संशोधित मार्गदर्शनमा गरिएको छ ।