विदेशी विनिमय सञ्चिति नाघ्यो ३७ खर्ब, १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रिय बैंकले जनाएको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च भएको छ । २०८२ असारको तुलनामा विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ वैशाखमा ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । 

चालु आर्थिक वर्षमा विपेषण आप्रवाह निरन्तर सुधार र आर्थिक सुस्तताका कारण आयातमा अपेक्षित सुधार नहुँदा विदेशी विनिमय सञ्चिति उच्च दरले बढेको हो । आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रिय बैंकले जनाएको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार २०८२ असारमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको विदेशी विनिमय सञ्चिति २०८३ वैशाखमा २४ प्रतिशतले वृद्धि भई २४ अर्ब १९ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३२ खर्ब ९८ अर्ब ३८ करोड र बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ छ । २०८३ वैशाखसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.६ प्रतिशत छ । २०८३ वैशाखमा विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ६०.७ प्रतिशत, १५९.७ र ४३.३ प्रतिशत छ ।