५ हजारभन्दा बढी गाडी आयातमा अर्बौं राजश्व हिनामिना भएको आरोप, छानबिन गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओली ले ५ हजारभन्दा बढी सवारीसाधन आयातका क्रममा अर्बौं रुपैयाँ बराबरको राजश्व हिनामिना भएको आरोप लगाएकी छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओली ले ५ हजारभन्दा बढी सवारीसाधन आयातका क्रममा अर्बौं रुपैयाँ बराबरको राजश्व हिनामिना भएको आरोप लगाएकी छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले सवारीसाधनको सिट क्षमतासम्बन्धी वर्गीकरणमा हेरफेर गरी भन्सार राजश्व छलिएको दाबी गरिन् । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय तथा भन्सार विभागका अधिकारीहरू सहभागी थिए ।
आर्थिक विधेयकमार्फत करका दर परिवर्तन गरिएको र त्यससम्बन्धी सूचना चुहावट भएको विषयमा जवाफ माग्दै ओलीले ७–८ सिट क्षमताका सवारीलाई ११ सिटको रूपमा वर्गीकरण गरी कम भन्सार शुल्क लिइएको आरोप लगाइन् ।
उनका अनुसार ७–८ सिटका गाडीमा लाग्ने ३० प्रतिशत भन्सार शुल्कको सट्टा फोल्डिङ तथा अमान्य सिटलाई समेत मान्यता दिएर ११ सिट कायम गरिएको र १० प्रतिशत मात्रै भन्सार असुल गरिएको पाइएको छ। यसरी प्रति गाडी २० प्रतिशत भन्सार राजश्व गुमाइएको उनको दाबी छ ।
त्यस्तै, ११–१४ सिटका सवारीमा लाग्ने १० प्रतिशत भन्सार शुल्कबाट जोगिन अमान्य सिट थपेर १५–१८ सिटको वर्गमा राखिएको र १ प्रतिशत मात्रै भन्सार लिइएको उनले बताइन् । यसबाट थप ९ प्रतिशत राजश्व हिनामिना भएको उनको आरोप छ ।
ओलीले यस्तो प्रक्रियाबाट ५ हजारभन्दा बढी गाडी आयात भएको दाबी गर्दै समग्र प्रकरणमा अर्बौं रुपैयाँ राजश्व नोक्सानी भएको हुनसक्ने भन्दै निष्पक्ष छानबिनको माग गरिन् ।