तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट १ खर्ब निक्षेप संकलन गर्दै

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

 काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको चाप निरन्तर बढिरहेपछि नेपाल राष्ट्र बैंकले शुक्रबार १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले १९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो १९ दिने निक्षेप संकलन उपकरणको असार १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्ला महिनाहरूमा रेमिट्यान्स आप्रवाह उच्च दरमा बढ्नु, सरकारी खर्च अपेक्षाकृत कम हुनु तथा कर्जाको माग सुस्त रहनुका कारण बैंकिङ प्रणालीमा तरलता अधिक भएको छ । यही अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसअघि पनि राष्ट्र बैंकले विभिन्न अवधिका निक्षेप संकलनमार्फत बजारबाट ठूलो परिमाणमा रकम तानेको थियो ।