इप्पानको नयाँ नेतृत्वमा मोहनकुमार डाँगी, कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित

वरिष्ठ उपाध्यक्षदेखि अधिकांश पदमा सर्वसम्मति, कोषाध्यक्ष पदमा मात्र निर्वाचन; बस्यालले २६७ मतसहित जिते

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार राति सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व टुंगो लगाएको हो । अधिकांश पदमा सहमति जुटेपछि कोषाध्यक्षबाहेक सबै पदमा सर्वसम्मत चयन भएको छ । विद्यमान इप्पान विधानअनुसार अध्यक्षमा मोहनकुमार डाँगी स्वतः चयन भएका हुन् ।

आन्तरिक छलफल र आपसी समझदारीपछि वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा सर्वसम्मत चयन भए । उक्त पदका अर्का उम्मेदवार बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएर लामालाई समर्थन गरेपछि सहमतिको वातावरण बनेको थियो । पाँच उपाध्यक्ष पदमा हिम पाठक, सुसन कर्माचार्य, उत्तरकुमार श्रेष्ठ, विक्रम विष्ट र नरेन्द्रबल्लभ पन्त सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष पदका उम्मेदवार भरतबहादुर खत्री र भरतप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन आवश्यक परेन ।

महासचिवमा टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल कँडेल चयन भएका छन् । महासचिव पदका उम्मेदवार प्रकाशचन्द्र दुलालले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।

कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । उक्त पदका लागि मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्यालबीच प्रतिस्पर्धा भएकोमा बस्याल २६७ मत प्राप्त गर्दै निर्वाचित भए। उनका प्रतिस्पर्धी पौडेलले ८२ मत प्राप्त गरेका थिए ।

कार्यसमिति सदस्यमा जगतबहादुर पोखरेल, अनुप आचार्य, कदम केसी, वर्णन लामिछाने, नारायण कँडेल, मिलन खड्का र जगदीश सिवाकोटी सर्वसम्मत चयन भएका छन् । सदस्य पदका उम्मेदवार इन्दिरा पन्त, सोमनाथ कँडेल र बाबुराम थापाले उम्मेदवारी फिर्ता लिएका थिए ।

महिला सदस्यतर्फ चार जनाको उम्मेदवारी परेकोमा सिर्जना खड्काले उम्मेदवारी फिर्ता लिएपछि ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, नयाँ प्रस्तावित विधानअनुसार सोमनाथ कँडेल, इन्दिरा पन्त र बाबुराम थापालाई मनोनयन गर्ने निर्णयसमेत गरिएको छ ।