एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

विज्ञापन
ncell

कारको सिटमुनि लुकाएर ल्याएको अवस्थाको १३ पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । 

खरङ्गातर्फ आउँदै गरेको बा प्र ०१-०२५ च ०८७७ नम्बरको सवारी साधन (कार) लाई ग२च ६१५ नम्बरको अर्को सवारी साधन (पिकअप) गाडीले ‘स्कटिङ’ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । कारको सिटमुनि लुकाएर ल्याएको अवस्थाको १३ पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

स्कटिङ गर्दै आएको पिकअप गाडी भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कार चालक चितवनको माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षका देवनारायण महतो र पिकअप चालक चितवनको भरतपुर महानगरपालिका २४ बस्ने ४८ वर्षका टेकबहादुर दोङ रहेका छन् । “विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले १६२ किलो गाँजासहित दुई वटा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो”, प्रहरी नायब उपरीक्षक काफ्लेले भने । गाँजासहित पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान अघि बढाइएको बताए ।