जेन-जी आन्दोलनका माग सम्बोधन गर्न दिनहुँ छलफल गर्छौं, भदौ २३ को नियति अब कसैले भोग्न नपरोस्: कानूनमन्त्री गौतम

विज्ञापन
ncell

लोकतन्त्रमा पनि गत भदौ २३ गते नागरिकमाथी गोली चलेको उल्लेख गर्दै अब त्यस्तो नियति कसैले भोग्न नपर्ने बताइन । उनले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गरिन् ।

काठमाडौं ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन-जी आन्दोलका शहीद तथा घाईतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् । जेन-जी शहीद दिवसका अवसरमा जेन-जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरिन् । उनले जेन-जी आन्दोलनका माग सम्बोधन दैनिक छलफल भईरहेको बताइन् ।

लोकतन्त्रमा पनि गत भदौ २३ गते नागरिकमाथी गोली चलेको उल्लेख गर्दै अब त्यस्तो नियति कसैले भोग्न नपर्ने बताइन । उनले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गरिन् । जेन-जीभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उनको भनाई छ । आन्दोलनपछि भएको निर्वाचनमार्फत नेपाली जनताले आफ्नो नेतृत्व रोजेकोले वर्तमान सरकार जनताको आवाज सुन्न तयार रहेको बताइन ।

सरकार गठन भएको करिव पाँच महिना मात्र भएको बताउँदै उनले यस अवधिमा सरकार सञ्चालन सहज नभएको उल्लेख गरिन् । सरकारसँग प्रतिनिधिसभामा पर्याप्त संख्या भएपनि कानून निर्माण लगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको उनको भनाई छ । उनले माग सम्बोधनमा ढिलाइ हुँदा जेनजी समुदायको धैर्य टुट्ने अवस्था आउनसक्ने स्वीकार गर्दै संयम कायम राख्न आग्रह गरिन् ।

सरकारले जेन-जी आन्दोलनका शहीद तथा घाइतेले देखेका सपना पूरा गर्न सरकारको सफा नियतका साथ काम गरिरहेको उनको भनाई छ । उनले देशमा भइरहेको भ्रष्टाचार र सशासनविरुद्ध आवाज उठाउँदा गोली खानु परेको बताइन । भदौ २३ गते आन्दोलनकारीमाथी राज्यले गरेको दमनका कारण भदौ २४ गतेको घटना निम्तिएको उनको भनाई छ । भदौ २३ र २४ गतेको घटनालाई एउटै रुपमा हेर्न नहुने उनले बताइन ।