सहिदको अनुहार नमिलेपछि जेनजी शालिक अनावरण कार्यक्रम स्थगित
परिवारले सालिकको अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि कार्यक्रम स्थगित गरिएको हो ।
काठमाडौं । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र निर्मित जेनजी सहिदहरुको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ । निर्मित सालिक शहीदको वास्तविक अनुहारसँग नमिलेको भन्दै परिवारका सदस्यहरूले आपत्ति जनाएपछि अनावरण कार्यक्रम रोकिएको हो । परिवारले सालिकको अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि कार्यक्रम स्थगित गरिएको हो ।
अनावरण कार्यक्रममा सबै सहिद परिवारहरु निम्त्याइएका थिए । गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्साल पनि शालिकस्थलमा आइसकेका थिए । यस्तै सुशीला सरकारका सञ्चारमन्त्री जगदिश खरेलदेखि सांसद तोसिमा कार्की सम्मको उपस्थिति थियो । अब एक महिनाभित्र सबै शालिकहरुलाई पुनर्निर्माण गरिने मन्त्रीहरुले बताएका छन् ।
उद्घाटन गर्न लागिएको जेनजी पार्कमा गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको शालिक निर्माण गरिएको छ ।
पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले बताएको छ ।
