दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ
उनले आफूलाई आइजिपी पदबाट हटाउने सरकारको निर्णय बदर गरी पुनः जिम्मेवारीमा फर्काउन माग गर्दै कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । कार्कीको रिटमाथि सुनुवाइका लागि न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ । उनले आफूलाई आइजिपी पदबाट हटाउने सरकारको निर्णय बदर गरी पुनः जिम्मेवारीमा फर्काउन माग गर्दै कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि सोमबारका लागि सुनुवाइको मिति तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन सकेको थिएन । तिहार र छठको बिदापछि अदालतको नियमित कामकाज सुरु भएसँगै बुधबारका लागि पुनः पेसी निर्धारण गरिएको हो ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजिपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । उनको स्थानमा सरकारले मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
तर, सुरक्षा सल्लाहकारको जिम्मेवारी स्वीकार नगरेका कार्कीले सरकारको निर्णयविरुद्ध अदालतको ढोका ढकढक्याएका हुन् । रिटमा आफूलाई पदबाट हटाउने निर्णय संविधान, कानुन तथा सर्वोच्च अदालतका स्थापित नजिरविपरीत रहेको दाबी गरिएको छ । कुनै कानुनी आधार र निर्धारित प्रक्रिया पूरा नगरी स्पष्टीकरण सोध्ने वा आफ्नो पक्ष राख्ने अवसरसमेत नदिई जिम्मेवारीबाट हटाइएको कार्कीको जिकिर छ । उनले आफूलाई पुनः आइजिपी पदमा बहाल गर्न सर्वोच्चसँग माग गरेका छन् ।