काठमाडौंमा ग्यास अभाव: उद्योगमन्त्रीको चेतावनीपछि सरकार र उद्योगीबीच चर्कियो विवाद

विज्ञापन
ncell

निर्देशन पालना नगर्ने उद्योगमाथि कडा कारबाही गर्ने चेतावनी मन्त्रीले दिएपछि सरकार र ग्यास व्यवसायीबीच विवाद थप चर्किएको छ । मन्त्रीले दीर्घकालीन रूपमा ग्यास आपूर्ति व्यवस्थापनका लागि नेपाल आयल निगमकै मातहतमा उद्योग सञ्चालन गर्नुपर्ने धारणा समेत सार्वजनिक गरेकी छन् ।

काठमाडौँ । बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। ग्यास बोकेका बुलेट उपत्यका प्रवेश गर्न नसक्दा बजारमा अभाव देखिन थालेको हो । आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले जुनसुकै कम्पनीका सिलिन्डर साटासाट गरेर भए पनि उपभोक्तालाई ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन् । तर, ग्यास उद्योगीहरूले कम्पनीअनुसार सिलिन्डरको संरचना फरक हुने भन्दै यस्तो व्यवस्था तत्काल लागू गर्न नसकिने बताएका छन् ।

निर्देशन पालना नगर्ने उद्योगमाथि कडा कारबाही गर्ने चेतावनी मन्त्रीले दिएपछि सरकार र ग्यास व्यवसायीबीच विवाद थप चर्किएको छ । मन्त्रीले दीर्घकालीन रूपमा ग्यास आपूर्ति व्यवस्थापनका लागि नेपाल आयल निगमकै मातहतमा उद्योग सञ्चालन गर्नुपर्ने धारणा समेत सार्वजनिक गरेकी छन् ।

यता नेपाल एलपी ग्यास उद्योग सङ्घले भने समस्या उद्योगीका कारण नभई बाढी र सडक अवरोधका कारण उत्पन्न भएको जनाएको छ । उपत्यकाको दैनिक माग धान्न तराईका उद्योगमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने प्रयास भइरहेको सङ्घले जनाएको छ ।

तर, वैकल्पिक मार्गबाट सीमित मात्रामा ग्यास आउँदा उपत्यकाको माग पूरा हुन सकेको छैन । कतिपय स्थानमा उपभोक्ताले सिलिन्डर बुझाएर कुपन लिनुपर्ने र ग्यास पाउन लामो समय कुर्नुपर्ने अवस्था देखिएको व्यवसायीहरूले बताएका छन् ।

सङ्घले सडक अवरोधका कारण तत्काल आपूर्ति प्रभावित भएको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ ।