नेपाल–भारतबीच विद्युत् निर्यात र प्रसारणलाइन विस्तारबारे छलफल
भेटमा निर्माणाधीन ऊर्जा परियोजनाहरू निर्धारित समयमै सम्पन्न गर्ने, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तारको सम्भावना खोज्ने र विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा विचारविमर्श भएको छ ।
काठमाडौं । नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको सीमा बढाउने तथा अन्तरदेशीय प्रसारणलाइन विस्तार गर्ने विषयमा नेपाल र भारतबीच छलफल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार भएको भेटमा विद्युत् व्यापार र ऊर्जा पूर्वाधार विस्तारका विषयमा छलफल भएको हो । भेटमा निर्माणाधीन ऊर्जा परियोजनाहरू निर्धारित समयमै सम्पन्न गर्ने, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तारको सम्भावना खोज्ने र विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा विचारविमर्श भएको छ । त्यसैगरी, नेपालमा सौर्य ऊर्जाको विकास तथा विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावनाबारे समेत छलफल भएको छ ।
भेटका क्रममा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा दुई देशबीच सहकार्य गर्ने विषयले पनि प्राथमिकता पाएको थियो ।
मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–भारतबीच ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड दिए । दुवै पक्षले द्विपक्षीय हितका ऊर्जा आयोजनालाई गति दिँदै ऊर्जा तथा जलस्रोत क्षेत्रमा आपसी सहकार्य थप प्रभावकारी बनाउने आवश्यकता औँल्याएका छन् ।