हाथवे इन्भेष्टमेन्टले सुगर मिल र जलविद्युत् आयोजनामा ४० करोड लगानी गर्ने
कम्पनीले दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने उद्देश्यले आफ्नो लगानी पोर्टफोलियो विस्तार गर्दै उत्पादनमूलक र ऊर्जा क्षेत्रका यी दुई कम्पनीमा कुल ४० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले उत्पादनमूलक उद्योग र ऊर्जा क्षेत्रमा गरी कुल ४० करोड रुपैयाँ दीर्घकालीन लगानी गर्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी हाथवे इन्भेष्टमेन्टले आफ्नो दीर्घकालीन लगानी नीतिअनुसार दुईवटा कम्पनीमा संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको हो ।
कम्पनीको २३५औँ सञ्चालक समिति बैठकले चिनी उद्योगतर्फ विजय श्री सुगर मिल्स लिमिटेडमा २५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ । उक्त लगानीअन्तर्गत प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता संस्थापक सेयर खरिद गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै, ऊर्जा क्षेत्रमा भिजन टेस्ला पावर प्रालिले संखुवासभाको मकालु गाउँपालिकामा निर्माण गरिरहेको २४.९२१ मेगावाट क्षमताको ‘इन्दुवा खोला पीआरओआर हाइड्रोपावर प्रोजेक्ट’ मा १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय भएको छ । उक्त आयोजनाका लागि हाथवेले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ ।
कम्पनीले दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने उद्देश्यले आफ्नो लगानी पोर्टफोलियो विस्तार गर्दै उत्पादनमूलक र ऊर्जा क्षेत्रका यी दुई कम्पनीमा कुल ४० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
