तार छुँदा गम्भीर घाइते भएकी रश्मीलाई विद्युत् प्राधिकरणले दिने भयो १३ लाख ८१ हजार क्षतिपूर्ति
घाइतेको उपचारसँग सम्बन्धित बिल तथा प्रेस्क्रिप्सन र मेडिकल बोर्डबाट पूर्ण अंगभंग भएको पुष्टि भएपछि सञ्चालक समितिले उक्त राहत तथा क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तारमा छोइँदा गम्भीर घाइते भएकी सुर्खेतकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले पञ्चपुरी नगरपालिका–२, श्रीचौर कोटधारामा भएको विद्युत् दुर्घटनालाई आधार बनाएर उक्त रकम दिने निर्णय गरेको हो ।
महेन्द्र राजमार्गअन्तर्गत कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार जमिनतर्फ नजिक आएको थियो । सोही क्षेत्रमा बसोबास गर्ने टीकाराम जैसीकी छोरी रश्मी नुहाएर घर फर्किने क्रममा उक्त तारको सम्पर्कमा आएपछि गम्भीर घाइते भएकी थिइन् । दुर्घटनाका कारण रश्मीको पूर्ण अंगभंग भएको र उनको विभिन्न अस्पतालमा उपचार गरिएको प्राधिकरणले जनाएको छ । उपचारका क्रममा ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो भने प्राधिकरणले यसअघि उपचारका लागि ३ लाख रुपैयाँ पेश्की उपलब्ध गराएको थियो ।
नेपाल विद्युत् प्राधिकरण दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ अनुसार निर्धारण भएको क्षतिपूर्ति रकमबाट यसअघि उपलब्ध गराइएको ३ लाख रुपैयाँ कट्टा गरी बाँकी १० लाख ८१ हजार ३७२ रुपैयाँ रश्मीलाई भुक्तानी गर्ने निर्णय गरिएको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार उपचारका लागि दिइएको ३ लाख रुपैयाँ पेश्की समायोजन गरेपछि रश्मीले क्षतिपूर्ति तथा राहतबापत १० लाख ८१ हजार ३७२ रुपैयाँ प्राप्त गर्नेछिन् ।
घटनासम्बन्धी दुर्घटना क्षतिपूर्ति नियमावलीअनुसार गठित समितिको प्रतिवेदन, इलाका प्रहरी कार्यालय बवियाचौरको सर्जिमिन मुचुल्का, पञ्चपुरी नगरपालिकाको सिफारिस तथा प्राधिकरणको मेडिकल बोर्डको २०८३/०४/२१ को निर्णयका आधारमा क्षतिपूर्ति रकम स्वीकृत गरिएको हो ।
घाइतेको उपचारसँग सम्बन्धित बिल तथा प्रेस्क्रिप्सन र मेडिकल बोर्डबाट पूर्ण अंगभंग भएको पुष्टि भएपछि सञ्चालक समितिले उक्त राहत तथा क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
