सरकारले केही रकम दिएर बाढीपीडित व्यवस्थापनबाट पन्छिन खोज्दैछ: रास्वपा सांसद साह
बाढीपीडितहरुको सही व्यवस्थापन सरकारको अनिवार्य दायित्व भएकोले यसबाट पन्छिन नमिल्ने उनको भनाई छ । प्रभावित नागरिकलाई रकम मात्र उपलब्ध गराएर समस्या समाधान नहुने भन्दै उनले दीर्घकालीन पुर्नस्थापना र मनोसामाजिक सहयोग आवश्यक रहेको बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार साहले सरकार बाढीपीडितलाई व्यवस्थापन गर्नबाट पन्छिन खोजेको आरोप लगाएका छन् । शुक्रबार महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले बाढीपीडितलाई केही रकम दिएर आफ्नो व्यवस्थापन आफै गर भन्ने मुडमा पुगेको बताएका हुन् । उनले विपद्मा सरकार अभिभावक बन्नुपर्ने बताए ।
बाढीपीडितहरुको सही व्यवस्थापन सरकारको अनिवार्य दायित्व भएकोले यसबाट पन्छिन नमिल्ने उनको भनाई छ । प्रभावित नागरिकलाई रकम मात्र उपलब्ध गराएर समस्या समाधान नहुने भन्दै उनले दीर्घकालीन पुर्नस्थापना र मनोसामाजिक सहयोग आवश्यक रहेको बताए । उनले विपद्पछिको राहत तथा पुर्नस्थापनाको अवस्था अझै पर्याप्त नभएको बताए । राहत वितरणमा अपनाइएको ‘वान डोर’ नीतिप्रति समेत उनले प्रश्न उठाए । उनले गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्राप्त गर्ने सहयोग र त्यसको खर्चमाथि निगरानी राख्न पनि सरकारलाई सुझाव दिए ।
नेपालमा काम गर्ने केही एनजीओ/आईएनजीओले पाप्त गर्ने रकम र खर्च गर्ने रकममा ठुलो अन्तर देखिएको उनको भनाई छ । उनले राहतका लागि आएको रकमको उपयोग र संस्थाहरूले गरेका कामको छुट्टै अनुगमन तथा अडिट गर्न समिति गठन गर्न समेत सरकारसँग माग गरे । उनले विपद्का बेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित संसदीय समिति १६ दिनसम्म निष्क्रिय बसेकोमा समेत असन्तुष्टी जनाए । विपद्को समयमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भएपनि प्रभावकारी रूपमा सक्रिय हुन नसकेको उनको भनाई छ ।
