प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, कनेक्टिभिटी विस्तारमा जोड

प्रधानमन्त्री शाहले गत चैत १३ गते पदभार ग्रहण गरेपछि असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन पहिलो विदेश भ्रमण गरेका थिए । भारत भ्रमण भने प्रधानमन्त्रीका रूपमा उनको पहिलो छिमेकी मुलुकको औपचारिक भ्रमण हुनेछ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लिएर कूटनीतिक तथा प्रशासनिक तयारी तीव्र पारिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही मङ्सिर ६ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत जाँदैछन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणको आन्तरिक तयारी तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। भ्रमणका एजेन्डा तथा अन्य विस्तृत विवरण मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने उनले बताएका छन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र भारतबीचको कनेक्टिभिटी विस्तार, विकास सहायता, पर्यटन प्रवर्द्धन तथा दुई देशका नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयले प्राथमिकता पाउने भएका छन् । विशेषगरी हवाई सेवा विस्तार, नेपालका लागि थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, रेल तथा सडक सञ्जाल विस्तार र ऊर्जा पूर्वाधार विकासका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलसेवा सञ्चालन, जयनगर–जनकपुर रेलमार्गलाई बर्दिबाससम्म विस्तार तथा रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको सम्भावनाबारे छलफल हुने बताइएको छ । त्यसैगरी सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आईसीपी) र विद्युत् प्रसारण लाइन विस्तारका विषय पनि एजेन्डामा समेटिनेछन् ।

भ्रमणका क्रममा भारतीय सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूको प्रगति समीक्षा गर्ने, सम्पन्न आयोजनाको उद्घाटन तथा हस्तान्तरण र निर्माणाधीन परियोजनालाई तीव्रता दिने विषयमा समेत छलफल हुनेछ। विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग अभिवृद्धि तथा केही नयाँ विकास आयोजना अघि बढाउने विषयले पनि प्राथमिकता पाउने अपेक्षा गरिएको छ । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानजस्ता सम्पन्न आयोजनाको उद्घाटन तथा हस्तान्तरणको विषयसमेत सम्भावित एजेन्डामा रहेको बताइएको छ ।

यसका अतिरिक्त पर्यटन प्रवर्द्धन, जनस्तरको सम्बन्ध विस्तार र सीमापार भुक्तानी प्रणालीलाई सहज तथा प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच छलफल हुने सम्भावना छ । प्रधानमन्त्री शाहको भ्रमणको तयारीका क्रममा भारतका विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गरेका थिए । सो अवसरमा उनले प्रधानमन्त्री शाहसहित विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

भ्रमणको पूर्वतयारीस्वरूप दुवै देशले रिक्त रहेका राजदूत पदमा नियुक्ति गरिसकेका छन् । नवनियुक्त राजदूतहरूले पनि आ–आफ्नो तहबाट भ्रमणको तयारी अघि बढाइरहेका सम्बन्धित दूतावासले जनाएका छन् । प्रधानमन्त्री शाहले गत चैत १३ गते पदभार ग्रहण गरेपछि असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन पहिलो विदेश भ्रमण गरेका थिए । भारत भ्रमण भने प्रधानमन्त्रीका रूपमा उनको पहिलो छिमेकी मुलुकको औपचारिक भ्रमण हुनेछ ।