टर्कीमा कडा सुरक्षा व्यवस्थाबीच नयाँ शैक्षिक सत्र सुरु, विद्यालय आक्रमणपछि परिवारमा चिन्ता
पाँचौँ कक्षाका विद्यार्थीका पिता एम्रे याल्चिनले पनि आफ्ना बालबालिकामा घटनाको असर परेको बताए । उनले सुरक्षा उपाय पर्याप्त देखिए पनि अत्यधिक सुरक्षा व्यवस्थाले विद्यालयको सामान्य वातावरण प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे ।
एजेन्सी । टर्कीमा २०२६-२७ शैक्षिक सत्र सुरु भएको छ । यसपटक विद्यालयहरूमा प्रहरीको उपस्थिति, नियन्त्रित प्रवेशद्वार तथा थप सुरक्षा कर्मचारी परिचालन गरिएको छ । अप्रिलमा भएका दुई विद्यालय आक्रमणपछि विद्यार्थी तथा परिवारलाई सुरक्षित वातावरणको भरोसा दिलाउन सुरक्षा व्यवस्था कडा पारिएको हो । देशभर करिव १ करोड ७० लाख विद्यार्थी कक्षाकोठामा फर्किएका छन् ।
राजधानी अंकारामा आफ्ना छोराछोरीलाई विद्यालय पुर्याउन आएका अभिभावकहरूले बढाइएको सुरक्षा व्यवस्थालाई स्वागत गरे पनि केहीले यसअघिका घटनाले परिवारमा भावनात्मक असर पारेको बताएका छन् । अप्रिल १४ मा दक्षिणपूर्वी टर्कीको सान्लिउर्फा प्रान्तको सिभेरेकस्थित विद्यालयमा भएको गोली प्रहारमा १६ जना घाइते भएका थिए । त्यसको भोलिपल्ट कहरामनमारासमा अर्को विद्यालय आक्रमण भएको थियो। यी घटनापछि विद्यालय सुरक्षाबारे व्यापक चिन्ता बढेको थियो ।
पाँचौँ कक्षाका विद्यार्थीका पिता एम्रे याल्चिनले पनि आफ्ना बालबालिकामा घटनाको असर परेको बताए । उनले सुरक्षा उपाय पर्याप्त देखिए पनि अत्यधिक सुरक्षा व्यवस्थाले विद्यालयको सामान्य वातावरण प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे । टर्कीका अधिकारीहरूकाअनुसार विद्यालयहरूलाई जोखिमको स्तरअनुसार वर्गीकरण गरी विद्यालय प्रहरी, सुरक्षित शिक्षा समन्वय अधिकारी र गस्ती टोली परिचालन गरिएको छ ।
विद्यालय तथा स्कुल बस वरपर लागुऔषध, ट्राफिक सुरक्षा र साइबर सुरक्षासहित विभिन्न विषयमा नियमित निरीक्षण गर्ने योजना पनि छ । शिक्षा मन्त्रालयले विद्यालयहरूलाई प्रवेश तथा बाहिरिने प्रक्रियामा नियन्त्रण कायम गर्न, सम्भावित जोखिमको समीक्षा गर्न र सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न निर्देशन दिएको छ । यसअघि अप्रिलका घटनापछि टर्कीका गृह तथा शिक्षा मन्त्रालयले ८१ वटै प्रान्तमा विद्यालय र वरपरको सुरक्षा पुनरावलोकन गर्दै थप सुरक्षा उपायबारे निर्णय गरेका थिए ।
