मुक्तिनाथ कृषि कम्पनीको नाफा ६६.५ प्रतिशतले बढ्यो

कम्पनीले असोज मसान्तसम्म १ करोड ८३ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.५ प्रतिशतले बढी हो ।

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ । कम्पनीले असोज मसान्तसम्म १ करोड ८३ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड १० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन आम्दानी पनि बढेको छ । गत वर्ष १६ करोड ६० लाख ३४ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर २७ करोड ६८ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको कुल आम्दानी ३ करोड २० लाख ४६ हजार रुपैयाँबाट बढेर ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा सञ्चालन खर्च ३ करोड ३३ लाख १६ हजार रुपैयाँ रहेको छ भने करअघिको नाफा २ करोड ४४ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) समेत सुधार भएको छ । वार्षिकीकरण गरिएको ईपीएस गत वर्षको ६ रुपैयाँ २९ पैसाबाट बढेर ९ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

कम्पनीको चुक्तापूँजी ७५ करोड ६० लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म कुल सम्पत्ति १ अर्ब ८० करोड ४७ लाख ८६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल सम्पत्ति १ अर्ब ३३ करोड १२ लाख २९ हजार रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको कुल इक्विटी ८० करोड ८६ लाख ४५ हजार रुपैयाँ र कुल दायित्व ९९ करोड ६१ लाख ४१ हजार रुपैयाँ रहेको छ । व्यापार विस्तारसँगै आम्दानी र नाफा बढ्दा कम्पनीको प्रतिसेयर आम्दानीमा समेत सुधार देखिएको छ ।